मनसुन सुरु भएसँगै इलाम सम्पर्कविहीन हुने उच्च जोखिममा

काठमाडाैं । यस वर्षको मनसुन शुरु भएसँगै इलाम जिल्ला देशका अन्य भू–भागबाट कुनैपनि समयमा सम्पर्कविच्छेद हुनसक्ने उच्च जोखिममा परेको छ ।

गत वर्षको भारी वर्षाका कारण क्षति पुगेका राजमार्गका पुल निर्माण र ठूला–ठूला पहिरो गएका स्थानको पुनर्निर्माण हुन सकेको छैन ।

विपद्का कारण भत्किएका सडक र पुलहरू बेलैमा मर्मत हुन नसक्दा यस वर्ष इलामको आर्थिक उत्पादन बाहिर पठाउन नसकिने र जिल्ला नै सम्पर्कविहीन हुनसक्ने खतरा बढेको हो ।  वर्षातको समयमा आउने बाढी र पहिरोका घटनाले इलाम फेरि पनि सडक सञ्जालबाट अलग हुन सक्ने खतरा देखिएको छ ।

इलाम नगरपालिकाका प्रमुख केदार थापाकाअनुसार गत वर्ष असोज १८ र १९ गतेको विनाशकारी वर्षापछिको बाढी र पहिरोबाट नगरपालिकाले ठूलो नोक्शानी व्यहोर्नुपरेको थियाे । पृथ्वीले धान्नै नसक्ने गरी २ सय ३१ मिलिलिटरसम्म पानी पर्दा कयौँ बाटोघाटा, कल्भर्ट र पुलहरू बगाए । मानवीय क्षति भयो । विगत चार वर्षमा निर्माण गरेका भौतिक संरचनाहरूमा गम्भीर क्षति पुग्यो ।

उनले भने, ‘हामीले केचना–कञ्चनजङ्घा सडक अन्तर्गत पर्ने पुवा खोलामा नगरपालिकाको ठूलो प्रयत्न र जोडबलमा एउटा बेलीब्रिज ल्याएका थियौँ, त्यसलाई बाढीले बगायो । त्यस्तै जोगमाई खोलामा पनि एउटा पुरानो बेलीब्रिज ल्याएर इन्स्टल गरेका थियौँ, त्यो पनि बगाइदियो ।’

जोखिममा मेची राजमार्ग, सामान्य वर्षामा पनि सडक अवरुद्ध  

मेची राजमार्ग अन्तर्गत इलामको माईखोला खण्डमा पर्ने राजदुवाली क्षेत्रमा ठूलो पहिरोका कारण सडक पूर्णरूपमा सुचारु गर्न कठिनाइ भइरहेको छ ।

उक्त खण्डमा पहिरो झरिरहने भएकाले दैनिक रूपमा गाडीहरूको लामो लाइन लाग्ने तथा कतिपय अवस्थामा गाडी सञ्चालन गर्न पनि कठिन हुँदा यात्रुहरुले सास्ती खेप्नुपरेको छ । वर्षात शुरु भइसकेकाले यो खण्ड अझ बढी संवेदनशील र जोखिमपूर्ण बन्दै गएको छ ।

उनले भने, ‘धेरै ठूलो ल्यान्डस्लाइडहरू छ । राजमार्गहरू अस्तव्यस्त छन् । अब यसले के निम्त्याइरहेछ भने तपाईंहरूले देख्नुभयो, यो मेची राजमार्गको चाहीँ माईखोला खण्डमा राजदुवाली भन्छ, त्यहाँ चाहीँ ल्याण्डस्लाइडले गर्दा हामीले त्यो बाटो बनाउन सकिरहेको अवस्था छैन । यात्रुहरूलाई आवागमनमा ठूलो एउटा समस्या बन्दै आइरहेको छ । गाडीहरू ताँतको ताँत लाग्ने, ल्याण्डस्लाइड हुने, गाडी चढाउन नसक्ने, यो समस्या छ । यो समयमै हामीले सम्बन्धित क्षेत्रलाई यो कुरा गरेको पनि हो ।’

इलाम नगरपालिकाको कुल बजेट धेरै देखिएपनि अधिकांश रकम सामाजिक सुरक्षा, शिक्षक तथा कर्मचारीहरूको तलब भत्ता र प्रशासनिक कार्यमै खर्च हुने गरेकाले अधिकतम १५ करोड रुपैयाँ मात्र परिचालन गर्न सक्ने अवस्था रहेको प्रमुख थापाले बताए ।

गत वर्ष विपद्को समयमा विपद् प्राधिकरणबाट जम्मा ६० लाख रुपैयाँ मात्र बजेट प्राप्त भएको र त्यसले कुल क्षतिको शुन्य दशमलव ५ प्रतिशत काम पनि धान्न नसक्ने प्रमुख थापाले बताए ।

केन्द्रबाट पर्याप्त सहयोग नआएपछि नगरपालिकाले आफ्ना साना र कम महत्वका योजनाहरू कटौती गरी आन्तरिक रूपमा २ करोड रुपैयाँ बराबरको आकस्मिक कोष व्यवस्थापन गरेको थियो ।

सोही रकमबाट अवरुद्ध बाटोहरू खोल्ने र सरकारी राहतको मापदण्डमा नपरेका पीडितहरूलाई राहत वितरण गर्ने काम गरिएको प्रमुख थापाले बताए ।

जिल्ला नै सम्पर्कविहिन हुनसक्ने खतरा

विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको इलामको भौतिक पूर्वाधार विकास र पुनर्निर्माणका लागि संघीय सरकारले रकम विनियोजन नगरेपछि स्थानीय जनप्रतिनिधिहरूले गम्भीर गुनासो र चिन्ता व्यक्त गरेका छन् ।

इलामले चिया, अलैँची र डेरी उत्पादन लगायतले देशको कुल गार्हस्थ्य उत्पादनमा ठूलो योगदान दिँदै आएको छ । तर संघीय सरकारको चालु बजेटमा इलामको कृषि उत्पादन, पूर्वाधार र अन्तरपालिका जोड्ने कृषि सडकहरूको पुनर्निर्माणका लागि बजेट विनियोजन नगरिएको भन्दै प्रमुख थापाले आक्रोश प्रकट गरे ।

विपद्का कारण भत्किएका सडक र पुलहरू बेलैमा मर्मत हुन नसक्दा यस वर्ष इलामको आर्थिक उत्पादन बाहिर पठाउन नसकिने र जिल्ला नै सम्पर्कविहीन हुन सक्ने खतरा बढेको छ ।

विपद् प्राधिकरणलाई बलियो बनाउनुपर्छ

इलाम नगरपालिका प्रमुख थापाले विपद्का ठूला घटनाहरू स्थानीय तहको स्रोत र साधनले मात्रै सम्बोधन गर्न सम्भव नहुने हुँदा राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई आर्थिक र प्राविधिक रूपमा मजबुत बनाउनुपर्ने बताए ।

मध्यरातमा पहिरो जाँदा एकै परिवारका ६ जनासम्मको घटनास्थलमै मृत्यु भएको स्मरण गर्दै प्रमुख थापाले ठूला विपद्मा सामान्य पूर्वतयारी र तालिम मात्र पर्याप्त नहुने व्यावहारिक अनुभव सुनाउनुए ।

उनले भने ‘लोकल लेभल बाट मात्रै सम्भव हुँदैन । यस्तो प्रकृतिको हानि–नोक्सानीलाई विपद् प्राधिकरणले सम्बोधन गर्नुपर्छ । स्थानीय सरकारको तहबाट सम्भव छैन । त्यसैले विपद् प्राधिकरणलाई आर्थिक हिसाबले मजबुत बनाउनुपर्छ ।’

यद्यपि जस्तोसुकै कठिन परिस्थितिमा पनि इलाम नगरपालिकाले नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसँगको बलियो समन्वयमा मेसिन तथा जेसीबीहरू तयारी अवस्थामा राखी बाटो खुलाउने र राहत दिने कार्यमा चौबिसै घण्टा उच्च शतर्कता अपनाइरहेको जनाएको पनि उनले जानकारी दिए ।

विपद् प्रभावितको पुनःस्थापना धिमा गतिमा

इलाम नगरपालिकाले विपद् व्यवस्थापन, पुनर्निर्माण र जलवायु परिवर्तनको असर न्युनिकरणका क्षेत्रमा आफ्नो गतिविधिलाई तीव्रता दिएको छ । नगरपालिकाले विपद् आउनुपूर्वको तयारी, विपद्पछिको पुनस्र्थापना र वातावरणीय संरक्षणका लागि नीतिगत तथा व्यावहारिक कदमहरू चालेको हो ।

नगरपालिकाले विपद् जोखिम न्युनिकरणका लागि स्थानीय विपद् तथा जलवायु उत्थानशीलता खाका बनाएको छ । विपद्को समयमा तत्काल सूचना आदानप्रदान र समन्वय गर्न स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्र सञ्चालनमा ल्याइएको छ ।

आकस्मिक सामग्रीहरू मौज्दात राखिएको छ । संकटको समयमा तत्काल परिचालन गर्न विपद् स्वयंसेवकको रोस्टर तयार पारेको नगरपालिकाले विभिन्न वडाहरूमा वडागत रूपमा विपद् प्रतिकार्य सम्बन्धी तालिम सञ्चालन गरिसकेको छ ।

आगलागीको जोखिमलाई मध्यनजर गर्दै दमकललाई २४ सै घण्टा तयारी अवस्थामा राखिएको छ । अवरुद्ध सडकहरू तत्काल खुलाउन नगरपालिकाका २ वटा ब्याक–हु लोडर चालु अवस्थामा राखिएका छन् ।

विशेषगरी गत २०८२ साल असोज १८ र १९ गतेको बाढीपहिरोबाट प्रभावित भएका परिवारहरूको पुनस्र्थापना र पुनर्निर्माण कार्यलाई नगरपालिकाले प्राथमिकताका साथ अघि बढाएको छ । अस्थायी आवासतर्फ हालसम्म १ सय ३२ परिवारमध्ये ९२ परिवारले प्रथम किस्ता वापतको २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

प्रथम किस्ता रकम बुझेकामध्ये ७५ परिवारले अस्थायी आवास निर्माण सम्पन्न गरिसकेका छन् भने ६६ परिवारले दोस्रो किस्ता वापतको २५ हजार सहित जम्मा ५० हजार रुपैयाँ अनुदान रकम बुझेका छन् । बाँकी ९ जनाको अनुदान निकासा हुन बाँकी छ ।

प्रभावितमध्ये ३६ परिवारका लागि विभिन्न संघसंस्थाहरूले अस्थायी आवास निर्माण गरिदिएका छन् भने अन्य लाभग्राहीहरूलाई विभिन्न संस्थाबाट वस्तुगत सहायता समेत उपलब्ध गराइएको छ । केही लाभग्राहीहरू भने विविध कारणले किस्ता रकम पाउन अयोग्य ठहरिएका छन् ।

स्थायी आवास पुनर्निर्माणतर्फ कुल १ सय ६६ घरपरिवारको विस्तृत क्षति संकलन गरिएको छ । ती मध्ये ५२ घरपरिवार लाभग्राही कायम भएका छन् ।

हालसम्म २१ परिवारसँग सम्झौता भई प्रथम किस्ता बापतको लागत साझेदारीको रकम जिल्ला प्रशासन कार्यालयको विविध खातामा जम्मा भइसकेको छ । बाँकी लाभग्राहीसँग सम्झौता हुन बाँकी छ । ४५ घरपरिवारको विवरण पुनरावलोकनका लागि पठाइएको छ । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =