जिम्मेवार पत्रकारिता र संसदीय रिपोर्टिङबारे पत्रकारलाई अभिमुखीकरण

काठमाडौं । नेपाल पत्रकार महासंघले जिम्मेवार पत्रकारिता, संसदीय रिपोर्टिङ तथा सामाजिक सञ्जालको प्रभावकारी प्रयोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।

महासंघले आईतवार काठमाडौमा संसदीय मामिलामा रिपोर्टिङ गर्दै आएका पत्रकारहरुलाई उक्त अभिमुखिकरण दिएको हो । कार्यक्रममा पत्रकारिताको व्यावसायिक मर्यादा, तथ्यमा आधारित समाचार सम्प्रेषण, संसदीय गतिविधिको प्रभावकारी रिपोर्टिङ तथा सामाजिक सञ्जालको जिम्मेवार प्रयोगका विषयमा जानकारी गराइएको थियो ।

संघीय संसद सचिवालयका उपसचिव दशरथ धमलाले संसदीय पत्रकारहरुमा विधेयक प्रक्रिया, संसदीय प्रश्ताव, विषयगत समिति सबैको बारेमा जानकारी हुन अति आवश्यक रहेको बताए । यी विषयमा जानकारी नहुँदा कतिपय पत्रकारले त्रुटीपूर्ण समाचार लेख्ने गरेको उल्लेख गर्दै उनले उक्त त्रुटीले समाजमा पत्रकारिता क्षेत्रलाई हेर्ने दृष्टिकोण नै परिवर्तन हुने गरेको बताए ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँले संसदीय पत्रकारहरु भनेको मुलुकको नीतिको रिपोर्टिङ गर्ने भएकोले जिम्मेवार हुनुपर्ने बताए । संसद लोकतन्त्रको मन्दिर भएकोले संसदभित्र छिर्नुअघि पत्रकारहरुले आफूभित्र रहेका आग्रहपुर्वाग्रहहरु सबै त्यागेर जानुपर्ने बताए ।

आग्रह पूर्वाग्रहहरु बोकेर गरिएको रिपोर्टिङ अधुरो हुने उनको भनाई छ । संसदभित्र कतिपय नकरात्मक प्रवृत्तिहरु देखापर्ने भएकोले पत्रकारहरुले त्यसतर्फ ध्यान दिनुपर्ने उनको भनाई छ । उनले पत्रकारहरुले संसदका सबै प्रक्रियाहरुको बारेमा जानकारी हुनुपर्ने बताए । संसदीय प्रक्रियाहरुको बारेमा जानकारी नहुँदा धेरै त्रुटीहरु हुने उनको भनाई छ ।

वरिष्ठ पत्रकार हरिबहादुर थापाले नेपालको संसदीय ईतिहातसको बारेमा जानकारी गराउँदै संसदको काम सरकारको निगरानी राख्ने बताए । सांसदको काम सरकारलाई निगरानी राख्ने भएपनि पछिल्लो समय संसदीय समितिहरुले निर्देशन नै दिन थालेको उनको भनाई छ । संसदीय समितिहरुले सरकार र संवैधानिक निकायहरुलाई निर्देशन नै दिन थालेको बताए ।

उनले निर्देशन भन्ने शब्द पछिल्लो समय दुरुपयोग भइरहेको उल्लेख गरे । सरकार तथा संवैधानिक निकायहरुलाई सांसद तथा संसदीय समितिहरुले काम गर्न सिफारिस गर्नसक्ने बताए । सरकारमाथी सांसदहरुले निगरानी राख्ने र सांसदमाथी पत्रकारहरुले राख्नुपर्ने उनको भनाई छ । उनले संसद पत्रकारहरुको लागी समाचारको खानी नै भएको बताए ।

नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले पत्रकारहरु जिम्मेवार बनाउनको लागी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको जानकारी दिइन् । कार्यक्रममा विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकारहरूको सहभागिता रहेको थियो । सहभागीहरूले पत्रकारिताका समसामयिक चुनौती, संसदीय रिपोर्टिङका अभ्यास तथा डिजिटल माध्यमको उपयोगबारे अनुभव आदानप्रदान गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 8 =