पुराना प्रमाणहरू खोज्ने र बेरुजु घटाउने कार्य प्राथमिकतामा- प्रधानसेनापति सिग्देल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले सेनाले पुराना प्रमाणहरू खोज्ने र प्रक्रियागत रूपमा बेरुजु घटाउने कार्यलाई प्राथमिकतामा राखेको बताएका छन् ।

संसदको सार्वजनिक लेखा समितिमा बोल्दै सिग्देलले बेरुजु घटाउन योजनाबद्ध रूपमा प्रमाण खोजिरहेको र आगामी दिनमा प्रगति राम्रो देखिने बताएका हुन् ।

उनले अहिले भने खासै धेरै फस्यौँट हुन नसकेको बताए । उनकाअनुसार नेपाली सेनाले यस वर्ष ६० प्रतिशत बेरुजु फर्स्यौट गर्ने लक्ष्य लिएको भए पनि हालसम्म ११ प्रतिशत मात्र प्रगति भएको छ ।

असार मसान्तसम्म यसलाई अधिकतम १५ प्रतिशतसम्म पुराइनेछ । उनकाअनुसार नेपाली सेनाको बेरुजु फर्स्यौटको ६० प्रतिशतको लक्ष्य पूरा हुन नसक्नुमा तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) को ठुलो रकम मुख्य कारण रहेको छ ।

फास्ट ट्र्याकको प्याकेज ६ अन्तर्गत १ अर्ब ३९ करोड रुपैयाँको ‘लिक्विडेटेड ड्यामेज’ तत्काल फर्स्यौट हुन सक्ने अवस्थामा नरहेकाले समग्र प्रगतिमा असर परेको स्पष्ट पारे ।

प्रधानसेनापति सिग्देलकाअनुसार सेनाले १५ करोड २१ लाख ८० हजार रुपैयाँ बराबरको बेरुजु सम्परीक्षणका लागि महालेखा परीक्षकको कार्यालयमा पेस गर्ने तयारी पूरा गरेको छ । यसमा एम्युनेसन खरिदको ४ करोड ११ लाख ६९ हजार, मेसिनरी स्पेयर पाट्र्सको १ करोड ८९ लाख ९१ हजार, लक्ष्मी बैंकबाट ब्याज असुली पश्चात् फर्स्यौट हुनुपर्ने ७ करोड ६९ लाख ६० हजार र पारिश्रमिक कर कट्टीको १ करोड ५० लाख ६० हजार रुपैयाँ समावेश छन् ।

त्यस्तै, रक्षा मन्त्रालयमार्फत नियमित गर्नुपर्ने २ करोड १३ लाख ३० हजार रुपैयाँ बराबरको बेरुजु असार मसान्तभित्र पठाइसक्ने सेनाको योजना छ । जसमा समरदली विभागका विभिन्न शीर्षकका बेरुजुहरू रहेका छन् ।

सैनिक कल्याणकारी कोषतर्फ कुल ३३ करोड ४३ लाख ७७ हजार रुपैयाँ बेरुजु रहेकोमा हालसम्म ६५ लाख ४८ हजार अर्थात् करिब २ प्रतिशत मात्र फर्स्यौट भएको छ । कोष अन्तर्गत नेपाली सैनिक विमान चार्टर उडान विकास समितिको २० करोड २१ लाख ७५ हजारमध्ये असारसम्म ९ करोड ३७ लाख फर्स्यौट गर्ने लक्ष्य राखिएको छ ।

प्रधानसेनापति सिग्देलले भने ‘हामीले महालेखा परीक्षकको कार्यालयमा सम्परीक्षणको लागि १५ करोड २१ लाख ८० हजारको बेरुजु सम्परीक्षणको लागि तयारी गरेर राखेका छौँ । जसमध्ये एम्युनेसन खरिदमा ४ करोड ११ लाख ६९ हजार, स्पेयर पाट्र्समा मेसिनको स्पेयर पाट्र्समा १ करोड ८९ लाख ९१ हजार र लक्ष्मी बैंकबाट ब्याज असुली पश्चात् फर्स्यौट हुनुपर्ने ७ करोड ६९ लाख ६० हजार र पारिश्रमिक कर कट्टी १ करोड ५० लाख ६० हजार गरेर १५ करोड २१ लाख ८० हजार चाहिँ हामी सम्परीक्षणको लागि तयारी पारेर राखिराखेका छौँ । यो तुरुन्त हामीले महालेखा परीक्षकको कार्यालयमा पेस गछौँ र नियमितको लागि मन्त्रालयमा पठाउनुपर्ने बेरुजु २ करोड १३ लाख ३० हजारको रहेको छ ।

जसमध्ये समरदली विभागको ५५ लाख २४ हजार, समरदली विभागकै २ लाख ६ हजार, समरदली विभागकै ६३ लाख ८८ हजार, समरदली विभागकै ६ लाख ६१ हजार, समरदली विभागकै ८५ लाख ५१ हजार। यिनीहरू चाहिँ हामीले असार सम्म चाहिँ पठाउन सक्छौँ । त्यस्तै कोष जुन कल्याणकारी कोष तर्फको विवरण हाम्रो जम्मा कुल बेरुजु ३३ करोड ४३ लाख ७७ हजार रहेको छ । जसमध्ये ६५ लाख ४८ हजार २ प्रतिशत हुन्छ यसको जम्मा फर्स्यौट भइसकेको छ र बाँकी बेरुजु ३२ करोड ७८ लाख २९ हजार बेरुजु बाँकी छ । यसमा नेपाली सैनिक विमान चार्टर उडान विकास समितिको बेरुजु २० करोड २१ लाख ७५ हजार रहेको छ । यसमध्ये १० करोड ११ लाख ६५ हजार पेस्कीमा छ, नियमित प्रमाण पेस गर्नुपर्नेमा १ करोड ७८ लाख ८० हजार छ र असुल उपर गर्नुपर्नेमा ८ करोड ३३ लाख ५२ हजार रहेको छ । र यो असार मसान्त सम्म हामीले यो २० करोड २१ लाख मध्ये ९ करोड ३७ लाख चाहिँ फर्स्यौट गरिसक्छौँ ।

त्यसैगरी सैनिक कल्याणकारी कोष तर्फको बेरुजु १२ करोड ३६ लाख ३४ हजार रहेको छ । जसमा पेश्की ५ लाख ६६ हजार, नियमित प्रमाण पेस गर्नुपर्ने ३ करोड ८६ लाख ४४ हजार र असुल उपर गर्नुपर्ने ९ करोड ७ लाख ५० हजार रहेको छ । यसमध्ये १२ करोड मध्ये हामीले ६ करोड ७९ लाख ८० हजार यही असार मसान्त सम्ममा हामीले फर्स्यौट गरिसक्छौँ । यो सैनिक कल्याणकारी कोष तर्फको उल्लेखित बेरुजुमध्ये जम्मा ६ करोड ७९ लाख हामीले फर्स्यौट गर्ने लक्ष्य राखेका छौँ । फर्स्यौट हुन्छ पनि त्यो । तर त्यसमा बाँकी बेरुजु जुन ६ करोड जति बाँकी रहन्छ त्यो हेर्दाखेरि हाम्रो यो ६ करोड फर्स्यौट भइसकेपछि ६५ लाख ४८ हजार बेरुजु चाहिँ धेरै गाह्रो होला जस्तो देखिएको छ ।

यो असुल उपर गर्नुपर्ने कागजपत्रहरू प्राप्त धेरै २०३२ सालमा कोष स्थापना भयो । त्यतिदेखिकै सर्दै सर्दै आएका बेरुजुहरू पनि छन् यसमा धेरै पुराना बेरुजुहरू तैपनि हामीले प्रमाण खोजिराखेका छौँ । सकेसम्म यो वर्ष हामीले कोषतर्फ कल्याणकारी कोषतर्फको ५०.१६ प्रतिशत बेरुजु चाहिँ फर्स्यौट गर्नसक्छौँ हामी यस असारमा । यति भनेर मैले चाहिँ क्षमा चाहन्छु । हामीले ६० प्रतिशतको लक्ष्य लिएका थियौँ बेरुजु फर्स्यौट गर्ने तर ६० प्रतिशत बेरुजु फर्स्यौट नभएर अहिलेसम्म जम्मा ११ प्रतिशत मात्र भएको छ र अधिकतम हामीले १५ प्रतिशत सम्म यो असार मसान्त सम्म गर्नसक्छौँ । त्यसको मुख्य कारण मैले प्याकेज सिक्सको एल।डी। १ अर्ब ३९ करोड फास्ट ट्र्याकको, त्यसले ठुलो रकम त्यसमा परेको हुँदा त्यो तत्काल फर्स्यौट हुनसक्ने अवस्थामा नभएको जानकारी म सबै समक्ष गराउन चाहन्छु ।’

कल्याणकारी कोषतर्फकै अर्को १२ करोड ३६ लाख ३४ हजार बेरुजुमध्ये ६ करोड ७९ लाख ८० हजार यसै असारभित्र फर्स्यौट हुने प्रधानसेनापतिले जानकारी दिए । उनकाअनुसार कोषतर्फका धेरै बेरुजुहरू २०३२ सालमा कोष स्थापना भए देखिकै पुराना छन् । प्रमाणहरू जुटाउन कठिन भए पनि हामीले यो वर्ष कोषतर्फको ५०.१६ प्रतिशत बेरुजु फर्स्यौट गर्ने लक्ष्य राखेको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 8 =