अर्थमन्त्रीलाई आर्यन राईको प्रश्न- आफ्नै राजश्वबाट मुलुक चलाउने योजना के छ ?

काठमाडौँ । विपक्ष श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले आफ्नै राजश्वबाट मुलुक चलाउने योजना के छ ? भनी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई प्रश्न गरेका छन् ।

देश ऋण लिएर ऋण तिर्ने संकटमा रहेको उल्लेख गर्दै उनले आफ्नै राजश्वबाट देश चलाउने उपायको खोजी गर्न सरकारलाई गम्भीर हुन आग्रह समेत गरे ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक, २०८३ माथिको छलफलमा भाग लिँदै सांसद राईले संवैधानिक आयोगको बजेट घटाउने काम गरेको भन्दै अर्थमन्त्री वाग्लेप्रति असन्तुष्टि पनि व्यक्त गरे । उनले बजेटबारे छलफल गर्नका लागि विभिन्न आयोगहरूले समय माग्दा पनि अर्थमन्त्री वाग्लेले नदिएको गुनासो आफूले सुनेको पनि बताए ।

सांसद राईले भने ‘आदिवासी जनजाति आयोगमा पनि बजेट घटेको भन्ने छ । अन्य आयोगहरूमा पनि समस्या यस्तै होला । यो आदिवासी जनजाति आयोग, मधेसी आयोग, मुस्लिम आयोग, दलित आयोग त्यत्तिकै बनेको होइन । यो पुस्तौपुस्तादेखि पछाडि पारिएका समुदायलाई सामाजिक रूपमा माथि उठाउन यो आयोगहरू बनेको हो । र यसमा पहिलोको भन्दा नयाँ गर्ने भनेपछाडि अझै बजेट त्यहाँ बढाउनु पर्दथ्यो । कम भयो भन्ने गुनासो छ । आयोगका प्रमुखहरूले बजेटबारे छलफल गर्न अर्थमन्त्रीसँग समय माग्दा नपाएको भन्ने गुनासो पनि छ । त्यसकारणले गर्दा सामाजिक रूपमा पनि सबै समुदायलाई माथि उठाउनका लागि राज्यले लगानी गर्नु पर्दछ जस्तो लाग्दछ । र, अर्को दुख लाग्दो कुरा के छ भने मआज यहाँ अर्थमन्त्रीजीलाई प्रश्न गर्न चाहन्छु–यो नयाँ पुरानो भन्नु भन्दा पनि अब हामी नयाँ कसरी गर्ने भन्ने कुरा खोज्नु पर्ला । हिजो वैदेशिक ऋण यति भयो, उति भयो भनेर आलोचना गर्ने, त्यस विषयमा ठूल्ठूला सभा, सम्मेलनमा कराउनेहरू अहिले हामी नयाँ भन्नेहरू पनि छौ । त्यसैकारणले गर्दा म एउटै मात्रै प्रश्न के गर्न चाहन्छु भने आज दुख लाग्दो कुरा, ऋण लिएर ऋण तिरिरहेका छौँ । अब यसका लागि आम नेपाली जनताले के गर्नुपर्ने रु देशकै राजस्वबाट देश चलाउनका लागि हामीले के गर्नुपर्ने ? हामी सांसदले के गर्नुपर्ने र सिंगो देशवासीले के गर्नुपर्ने हो ? अर्थमन्त्रीले भनिदिनु पयो । यसको भावी योजना के छ, अहिलेबाट हामी आफ्नै राजस्वले देश चलाउन सक्छौ ? यस विषयमा गम्भीर हुनु पर्दछ ।’

सांसद राईले सामाजिक रूपमा पनि सबै समुदायलाई माथि उठाउनका लागि राज्यले लगानी बढाउनुपर्न आवश्यकता रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 1 =