अर्थमन्त्रीलाई हर्कको सुझाव- वैदेशिक ऋण घटाउनेतिर केन्द्रित हुनुहोस्

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले वैदेशिक ऋण घटाउनेतिर केन्द्रित हुन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सुझाव दिएका छन् ।
शुक्रवार प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक २०८३ माथिको छलफलमा भाग लिँदै उनले सरकारलाई उक्त सुझाव दिएका हुन् ।
अध्यक्ष राईले विकासमा नाममा वैदेशिक ऋण बढाउने होड चलिरहेको उल्लेख गर्दै आम नेपालीहरू वैदेशिक ऋणको भारले थिचिएर बस्नुपर्ने अवस्था आएकाले यसबाट उन्मुक्ति हुने गरी सरकारले काम गर्नुपर्ने तर्क समेत गरे । उनले श्रम गर्नु नै शिक्षा हो भन्ने मानक स्थापित गरेर मात्रै उत्पादन वृद्धि गरी मुलुकलाई आत्मनिर्भरतातर्फको बाटोमा अघि बढाउन सकिने पनि बताए ।
सरकारले आगामी वर्षहरूमा आत्मनिर्भरतातर्फको अर्थनीति तय गरेर अघि बढ्नुपर्ने अध्यक्ष राईको भनाई थियो ।
उनले भने ‘विकास कसैले बढी ल्याउने भन्ने दौडमा प्रत्येक साल हाम्रो विदेशी ऋण बढिरहेको छ । अनुरोध गर्न चाहन्छु बरु योजनाका सङ्ख्याहरू घटाऔँ हामीले । हुँदो नहुँदो योजना ल्याएर पछि ऋणको भारीमा किचिएर, थिचिएर बस्नु भन्दा अव हामी आत्मनिर्भर बन्नु पर्छ भन्ने भन्नेतर्फ हाम्रो अर्थनीति अगाडि जानु पर्दछ भन्ने म सुझाव दिन चाहन्छु । मैले धेरै चोटि यहाँ उभिएर पनि भनेको छु–जबसम्म हामीले शिक्षामा नै श्रम ल्याउँदैनौँ । केटाकेटीलाई हामी स्कुलमा नै काम गर्न सिकाउँदैनौ । काम गर्नु नै शिक्षा हो भन्ने कुराको मानक स्थापित गर्दैनौ, तबसम्म देशमा उत्पादन हुँदैन । देशमा उत्पादन नहुने भनेको औद्योगीकरणमा नजानु हो । त्यसो भएको हुनाले हामीले त श्रम संस्कृति भन्दै आएको हो । श्रम संस्कृति चाहिँ वास्तवमा के हो त भन्दा यो एउटा पार्टीको काम मात्रै नभएर यो भनेको गरिखान सिकाउने, अव भोकानांगालाई जहिले पनि भात लिएर, कपडा लिएर सहयोग गर्नु भन्दा उसैलाई आफैँले उत्पादन गरेर उपभोग गर है भनेर सिकाउने एउटा संस्कृति हो । त्यसो भएको हुनाले त्यसतर्फ ध्यान दिनु पर्दछ भन्ने मलाई लाग्दछ । र त्यही सुझाव म दिन चाहन्छु । हामी कति सफल भयौँ, कति असफल भयौ भन्ने कुराको मूल्यांकन हामीले विदेशी ऋण घटायौ वा बढायौ भन्ने कुराले निर्धारण गर्दछ भन्ने म सुझाव दिन चाहन्छु । त्यसो भएको हुनाले हामीले जतिसक्दो ऋण घटाउनेतर्फ हामी लाग्नुपर्दछ । र म त भन्छु–अर्को साल ऋण नलिई म हाम्रो अर्थमन्त्रीजीलाई, नेपाल सरकारलाई ।’
अध्यक्ष राईले भोकानांगालाई आफैले उत्पादन गरेर उपयोग गर्नुपर्छ भन्ने मान्यताका आधारमा अघि बढाउने काम गर्नुपर्नेमा पनि जोड दिए ।








