सनातन राज्यको पक्षमा बोल्दा बलात्कार र ज्यान मार्ने धम्की आयो: खुश्बु ओली

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले नेपाललाई सनातन राज्य बनाउनुपर्ने अभिव्यक्ति दिएकै कारण आफूलाई बलात्कार र ज्यान मार्ने धम्की आएको खुलाएकी छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपाललाई सनातनी हिन्दु राज्य बनाउनुपर्ने अभिव्यक्ति दिएकै कारण इसाई धर्मावलम्वीहरुले सामाजिक सञ्जालमार्फत ज्यान मार्ने तथा बलात्कार गर्ने धम्की दिएको आरोप लगाइन् ।
उनले नेपालमा ९० प्रतिशतभन्दा बढी सनातनीहरूको बसोबास रहेको उल्लेख गर्दै संविधानले सुनिश्चित गरेको अधिकारअनुसार नेपाललाई पुनः सनातन राज्य घोषणा गर्नुपर्ने विषय सदनमा उठाउँदा योजनाबद्ध रूपमा धम्की दिइएको आरोप लगाइन्।
उनले भनिन् ‘९० प्रतिशत सनातनीहरू बसोबास गर्ने देशमा नेपालको संविधानले पनि सुनिश्चित गरेको नेपाल सनातन राज्य हुनुपर्ने भन्ने कुरा मैले यो सदनमा उठाउँदाखेरि सुनियोजित रूपमा मलाई ज्यान मार्ने, बलात्कार गर्ने धम्की सामाजिक सञ्जालबाट आइरहेको छ । के गणतन्त्रले ल्याएको धर्म निरपेक्षताको फल यही हो रु यो धम्की म सहन सक्छु सभामुख महोदय । तर यो धम्की मलाई मात्र नभई सिंगो सनातनीहरूमाथिको प्रहार हो ।’
सांसद ओलीले आफूले व्यक्तिगत रूपमा धम्की सहन सक्ने भएपनि यसलाई केवल आफ्नो विरुद्धको आक्रमणका रूपमा नभई सम्पूर्ण सनातनी समुदायमाथिको प्रहारका रूपमा लिनुपर्ने बताइन् ।








