सरकारको विज्ञापन नीति विरुद्ध जनकपुरमा पत्रकारहरूको धर्ना

काठमाडौँ । सरकारी विज्ञापन तथा सूचना वितरणसम्बन्धी विभेदकारी र स्वेच्छाचारी निर्णय खारेज गर्न माग गर्दै जनकपुरमा पत्रकारहरूले धर्ना दिएका छन् ।

नेपाल पत्रकार महासंघको आह्वान तथा धनुषा शाखाको अगुवाइमा बुधवार पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय अगाडी एक घण्टा धर्ना दिएका हुन् ।

पत्रकारहरूले मिडियाविरोधी नीति फिर्ता लिनुपर्ने, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्नुपर्ने तथा पत्रकारहरूको सुरक्षाको ज्ञारेन्टी सरकारले गर्नुपर्ने लगायतका माग राखेका छन् ।

धर्नामा सहभागी पत्रकार पूर्ण साहले सरकारको विभेदकारी विज्ञापन नीतिले श्रमजीवी पत्रकारहरू समस्यामा परेको बताए । संचारमाध्याममा विज्ञापन कटौती हुँदा पत्रकारहरूको रोजगारी नै गुमेको उनको भनाई छ । सरकारले सञ्चारमाध्यमलाई प्रवर्द्धन गर्नुपर्नेमा उल्टो नियन्त्रण गर्न खोजेको उनको आरोप छ ।

पत्रकार शंकर सिंहले संघिय सरकार पत्रकारहरूसँग डराएको बताए । पत्रकारदेखि डराएर संघिय सरकारले निजी सञ्चारमाध्यमलाई बन्द गर्ने रणनीतिमा लागेको उनको आरोप छ । तर सरकारको निर्णय विरुद्ध शान्तिपूर्ण रूपमा निरन्तर आन्दोलन गरिरहने उनले बताए । उनले विश्वमा कहीँ पनि विज्ञापन नीतिमा बन्देज नरहेको बताए ।

सरकारले सरकारी विज्ञापन निजी संचारमाध्याममा दिन रोक लगाएपछि पत्रकार महासंघ तथा मिडिया सञ्चालकहरूले आन्दोलनका कार्यक्रम जारी राखेका छन् । नेपाल पत्रकार महासंघले सरकारले विभेदकारी निर्णय फिर्ता नलिएसम्म आन्दोलन गर्ने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =