बाजुरा-हुम्ला सीमा विवाद क्षेत्रमा संयुक्त सुरक्षा बेस स्थापना गर्दैछौँः महानिरीक्षक पौडेल

काठमाडौँ । सशस्त्र प्रहरी बल (एपीएफ) नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले बाजुरा र हुम्लाको सीमा विवाद क्षेत्रमा संयुक्त सुरक्षा बेस स्थापना गर्ने तयारी भइरहेको जानकारी दिएका छन् ।

राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले सो क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त स्थायी बेस क्याम्प स्थापना गर्नेगरि प्रक्रिया अगाडी बढाइएको जानकारी दिए ।

संयुक्त स्थायी बेस स्थापना गर्ने योजना तयार पारेर सम्बन्धित निकायमा प्रस्ताव पेस गरिसकिएको उनको भनाई छ ।

उनकाअनुसार सो क्षेत्रमा सुरक्षा चौकी स्थापनाको विषयलाई लिएर विवाद उत्पन्न भएको थियो । हाल उक्त तनाव नियन्त्रणमा आएपनि दीर्घकालीन समाधानका लागि प्राविधिक सिमाङ्कन, घटनाको अनुसन्धान र स्थानीय जनभावनालाई समानान्तर रूपमा सम्बोधन गर्नुपर्ने उनले बताए ।

महानिरीक्षक पौडेलकाअनुसार सो क्षेत्र संवेदनशील र रणनीतिक महत्वको स्थान हो । उक्त क्षेत्र बहुमूल्य जडीबुटी उत्पादन तथा ओसारपसारको प्रमुख मार्गका रूपमा रहेको उनले बताए । बाजुरा तथा हुम्ला दुवै जिल्लाका बासिन्दाले सो क्षेत्रलाई आफ्नो पहुँचमा राख्न खोजेको उनको भनाई छ । महानिरीक्षक पौडेलले विवाद समाधानको मुख्य आधार प्राविधिक तथा भौगोलिक सीमाङ्कन रहेको उल्लेख गर्दै केन्द्र सरकारले गठन गरेको समितिले ठोस निर्णय गर्ने बताए ।

उनले भने ‘यो क्षेत्र विवादित क्षेत्र हो । विशेषगरी सुरक्षा चौकी स्थापना गर्ने विषयसँग सम्बन्धित छ । साथै, यो अत्यन्त संवेदनशील क्षेत्र पनि हो, यो एउटा महत्त्वपूर्ण आवागमन मार्गमा पर्छ । त्यहाँ बहुमूल्य जडीबुटीहरूको उत्पादन तथा ओसारपसार हुने भएकाले बाजुरा र हुम्ला दुवै जिल्लाका स्थानीयवासीहरूको पहुँच तथा उपयोगको विषयमा विगतदेखि नै पटक–पटक मनमुटाव र विवाद हुने गरेको अवस्था छ । पछिल्लो समयमा प्रदेश सरकारले उक्त क्षेत्रमा सुरक्षा चौकी स्थापना गर्ने निर्णय गरेपछि उत्पन्न परिस्थितिबाट द्वन्द्व सिर्जना भएको देखिन्छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) को संयुक्त टोली त्यहाँ खटिएको छ । हाल उक्त टोलीले त्यहाँ अस्थायी बेस स्थापना गरी नियमित गस्ती गरिरहेको छ । वर्तमान अवस्थामा सुरक्षा अवस्था सामान्य र नियन्त्रणमा रहेको छ । हाल संयुक्त सुरक्षा टोलीले अस्थायी रूपमा काम गरिरहेको छ । साथै, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त स्थायी बेस स्थापना गर्ने उद्देश्यका साथ आवश्यक योजना तयार गरी सम्बन्धित निकायमा पेस गरिसकिएको छ । सबैभन्दा प्रमुख विषय भनेको प्राविधिक तथा सिमाङ्कनसम्बन्धी पक्ष हो । यो विवादको दीर्घकालीन समाधानका लागि सिमाङ्कनसम्बन्धी विषय स्पष्ट हुनु अत्यावश्यक छ । जबसम्म यो विषय समाधान हुँदैन, तबसम्म विवादको स्थायी समाधान सम्भव देखिँदैन । मूलतः यो विषय केवल प्राविधिक वा भौगोलिक सिमाङ्कनसँग मात्र सम्बन्धित छैन, स्थानीय समुदायको भावना, स्वामित्वबोध तथा आपसी इगोका विषयहरू पनि यससँग जोडिएका छन् । त्यसैले शान्ति–सुरक्षाको पक्ष, स्थानीय समुदायको भावनात्मक पक्ष तथा प्राविधिक–सिमाङ्कनको पक्षलाई एकसाथ सम्बोधन गर्न सकियो भने मात्र यसको दीर्घकालीन र दिगो समाधान सम्भव हुनेछ ।’

उनकाअनुसार विवादस्थल बाजुराको सदरमुकामबाट १०० किलोमिटरभन्दा बढी दूरीमा रहेको छ । सो क्षेत्रमा पुग्न ८० किलोमिटर कच्ची सडकमा ८–९ घण्टा सवारी यात्रा र त्यसपछि १२–१३ घण्टा पैदल हिँड्नुपर्ने उनले बताए । हाल दुवै सुरक्षा निकायको टोलीले अस्थायी बेस स्थापना गरी नियमित गस्ती गरिरहेको र अवस्था सामान्य रहेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 6 =