वीरगन्जका मेयर राजेशमान सिंहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झुटा कागजात पेस गरी नागरिकता दिलाएको आरोपमा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार अर्कैकी छोरीलाई आफ्नो छोरीका रूपमा देखाएर नागरिकता दिलाउन भूमिका खेलेको आरोपमा सिंहसहितका व्यक्तिविरुद्ध मुद्दा दायर गरिएको हो ।

अख्तियारले मेयर सिंहकी छोरी बनेर नागरिकता लिएको आरोपमा सिन्धुपाल्चोककी रिता भट्टराईलाई पनि प्रतिवादी बनाएको छ । यस्तै वीरगन्ज–३ का तत्कालीन वडा सचिव भिखारी राय र तत्कालीन कार्यवाहक वडाध्यक्ष तुफैल अख्तर ठकुराईविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

त्यसैगरी गृह मन्त्रालयको छानबिन समितिका तत्कालीन संयोजक उपसचिव पुष्कर राना तथा सदस्य शाखा अधिकृत परशुराम पोखरेललाई समेत प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार मेयर सिंहले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतका विभिन्न कसुरमा मतियारको भूमिका निर्वाह गरेको पुष्टि भएकाले मुख्य कसुरदारसरह सजायको मागदाबी गरिएको छ ।

यही प्रकरणमा पक्राउ परेका मेयर सिंहलाई गत जेठ १९ गते पर्सा जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

पर्सा जिल्ला अदालतका तहसिलदार देवराज भट्टराईका अनुसार सिंहविरुद्ध दस्तखत किर्ते र झुटा विवरण पेस गरी नागरिकता बनाएको सम्बन्धी दुई वटा कसुरमा मुद्दा दर्ता भएको थियो ।

अदालतले दस्तखत किर्ते मुद्दामा ४ लाख रुपैयाँ र झुटा विवरण पेस गरी नागरिकता बनाएको कसुरमा १५ हजार रुपैयाँ धरौटी माग गर्दै रिहा गर्न आदेश दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + five =