सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरूसँग थप छलफल हुन्छ: कविन्द्र बुर्लाकोटी

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरूसँग थप छलफल हुने बताएको छ ।
सोमवार रास्वपा सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा उक्त विषयमा कुरा नमिलेपछि थप छलफल गरी अवरुद्ध संसद सुचारु गराउने विषयमा छलफल हुने निष्कर्षमा पुगिएको पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।
उनले आफूहरूले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिएको अभिव्यक्ति परराष्ट्र मन्त्रालयको विषय भएकाले परराष्ट्रमन्त्रीले जवाफ दिँदा हुनेकुरा राखेको र त्यसमा विपक्षले प्रधानमन्त्रीकै जवाफ चाहिन्छ भन्ने अडान राखेपछि उक्त विषयमा थप छलफल आवश्यक रहेको पनि बताए । महामन्त्री बुर्लाकोटीले सभापति लामिछानेले प्रधानमन्त्रीको संसदको सम्बोधन विषयगत रूपमा प्रवेश भएकाले यसको जवाफ परराष्ट्रमन्त्री शिशिर खनालले दिँदा उपयुक्त हुने धारणा राखेको पनि बताए ।
उनले भने ‘अहिले सदनमा जारी गतिरोध अन्त्यका लागि पार्टी सभापति रवि लामिछानेज्यूले अनुरोध गर्नुभयो । यो कति मुद्दाहरू हामीले छलफल गरेर, लामो छलफल गरेर मात्रै निराकरण हुन्छ । त्यो समाधान हुन्छ । अहिले यो विषय सदन अवरुद्ध हुने, गतिरोध छ । त्यसलाई निराकरण गरेर जानुपर्छ भन्ने हिसाबमा सभापतिज्यूबाट अनुरोध भयो । र त्यसमा दलहरूको तर्फबाट केही कुराहरू राखिएको छ । र यसमा चाहिँ सामान्यतया सरकारको तर्फबाट यसलाई प्रस्ट्याउने, यसलाई स्पष्ट गर्ने गरी परराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालयले त्यो विषयमा केही कुराहरू राखी पनि सक्यो । त्यसलाई आवश्यक प¥यो भने सदनमा पनि राख्न सकिन्छ भन्ने हिसाबमा सभापतिज्यूले राख्नुभयो । अरू दलहरूको तर्फबाट यसमा छलफल गरेर मात्रै हामी अगाडि बढौँ भन्ने कुरा छ ।अरू विषयमा लगभग अगाडि बढेर टुंगिसकेको अवस्था छ । भारत भ्रमण र समसामयिक विषयमा छलफल निष्कर्षमा पुगेको छ । र अहिले जुन सदनमा अवरोध छ । त्यो सदनको अवरोध हटाउने विषयमा छलफल धेरै अगाडि बढिसकेको छ । केही कुराहरू अझै बाँकी हो कि जस्तो देखिन्छ । अव यो प्रधानमन्त्री मातहत विभिन्न विषयगत मन्त्रालयहरू छन् । र, त्यो मन्त्रालयहरूले हेर्ने विषयहरूमा सम्बन्धित मन्त्रालयहरूले नै कृषिमा केही कुरा उठयो भने कृषि मन्त्रीले गर्ने कुराहरू हुन्छन् । ऊर्जामा केही कुराहरू उठे, ऊर्जामन्त्रीले गर्ने कुराहरू हुन्छन् । परराष्ट्र मामिलाबारे केही कुराहरू उठे भने परराष्ट्रमन्त्रीले गर्ने कुराहरू हुन्छन् । त्यो कारणले गर्दा सम्बन्धित मन्त्रीले नै सिङ्गो सरकारको प्रतिनिधित्व गरेर बोल्नै भनेकै त्यसमा प्रधानमन्त्री, सरकार र त्यो सरकारको नेतृत्व गर्ने राजनीतिक दल । यो सबैको जवाफ हो । त्यो विषय भएको कारणले गर्दा विषयगत विषयमा प्रवेश गरेको कारणले गर्दा यो विषयगत क्षेत्रबाटै अगाडि बढाउनु पर्दछ भन्ने विषयमा छलफलहरू भयो । मैले त छलफल भएको कुरा राखिराखेको छु नि त । सरकारको तर्फबाट प्रधानमन्त्री वा मन्त्री वा पार्टीको नेतृत्व तहबाट कुराहरू आयो भने त्यसलाई ठिक ढंगले सम्बोधन गर्ने कुरा त विषयगतमा छिर्छ । त्यो कारणले विषयगत रूपमा यो कुरालाई सम्बोधन गरौँ भन्ने हिसाबमा छलफल भयो । होइन यसमा प्रधानमन्त्री आउनु भएदेखि उपयुक्त हुन्थ्यो, राम्रो हुन्थ्यो भन्ने हिसाबमा दलहरूको कुरा छ । यो विषय अहिले दलहरूको बिचमा छलफल भई राखेको छ । त्यो कारणले सर्वदलीय बैठकमा छलफल गरिएको हो । यो विषयगत भएको कारणले विषयगत रूपमा नै छलफल अगाडि बढाऔँ भन्ने भएको छ । र, यसमा आवश्यकता पर्यो भने थप छलफल हुन्छ ।’
महामन्त्री बुर्लाकोटीले परराष्ट्र मामिलाको विषयलाई ठिक ढंगले सम्बोधन गर्ने काम परराष्ट्र मन्त्रालयले गर्ने पनि बताए ।








