२ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण अवस्थामा रहेको बताएका छन् ।
राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले जीर्ण संरचना पुनर्निर्माणका लागि बजेट अभाव रहेको जानकारी दिएका हुन् ।
आईजीपी कार्कीका अनुसार सीमावर्ती तथा संवेदनशील क्षेत्रमा रहेका कतिपय प्रहरी चौकी भत्किने अवस्थामा पुगेका छन् । जोखिमपूर्ण संरचनाभित्रै बसेर प्रहरी कर्मचारीले सेवा दिनुपरेको उनले बताए ।
कतिपय चौकीको अवस्था अत्यन्त कमजोर रहेको र भवन नै ढल्ने जोखिम रहेको उनले उल्लेख गरे । अस्थायी प्रहरी चौकीहरूको यकिन तथ्यांकसमेत नभएको उनले बताए ।
जीर्ण चौकीहरूको पुनर्निर्माण संघीय मामिला तथा स्थानीय तहसँगको समन्वयमा हुन सके प्रहरी कर्मचारीलाई न्यूनतम मानवीय सुविधा उपलब्ध गराउन सकिने उनको भनाइ छ ।
आईजीपी कार्कीले कर्णाली प्रदेशअन्तर्गत बाजुरा र हुम्लाको विवादित सीमाक्षेत्रमा अस्थायी प्रहरी चौकी निर्माणका विषयमा प्रहरी प्रधान कार्यालयसँग औपचारिक समन्वय नभएको बताए ।
प्रदेश सरकारले बजेट विनियोजन गरी चौकी निर्माण अघि बढाए पनि संगठनसँग आवश्यक पत्राचार नभएको उनले बताए । निर्माणपछि विवाद चर्किएर झडपसमेत भएको उनले उल्लेख गरे ।
उनका अनुसार उक्त विवाद सीमासम्बन्धी मात्र नभई जडीबुटी व्यापार, ओसारपसार तथा व्यापारिक पहुँचसँग पनि जोडिएको देखिन्छ ।
स्थानीय व्यक्तिको जग्गामा निर्माणाधीन अवस्थामा रहेको चौकी निर्माणपछि विरोधी पक्षले निर्माण सामग्री क्षति पुर्याएको पनि उनले बताए ।
आईजीपी कार्कीका अनुसार गत कार्तिक महिनामा चरिचरण (पशु चराउने) विषयलाई लिएर दुई पक्षबीच झडप भएको थियो । त्यस क्रममा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दर्ता भएको र आरोपी धरौटीमा छुटेका थिए ।
हालैको घटनामा पनि संलग्न व्यक्तिहरूविरुद्ध मुद्दा दर्ता भइसकेको, पक्राउ अनुमति जारी भएको र केही आरोपी फरार रहेको उनले बताए ।
विवादित क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त उपस्थिति बढाइएको छ। दीर्घकालीन समाधानका लागि उक्त क्षेत्रमा प्रहरी चौकी स्थापना गर्न सुझाव आएको पनि उनले बताए ।








