करका दर हेरफेरको विषयमा संसदीय छानबिन गर्नुपर्छ: ज्ञानेन्द्र शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाहीले बजेट निर्माण हुनुअघि नै करका दर हेरफेर हुन लागेको सूचना चुहावट भएको विषयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग जवाफ माग गरेका छन् ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।
करका दरको जानकारी अर्थमन्त्री बाहेक कसैलाई नहुने अवस्थामा सूचना चुहावट हुनु गम्भीर विषय भएको भन्दै शाहीले अर्थमन्त्री वाग्लेमाथि संसदीय छानविन हुनुपर्ने समेत बताए । उनले करका दर परिवर्तन हुने सूचना चुहावटकै आधारमा ७५६ वटा गाडी केरला नाकाबाट नेपाल भित्रिएको समेत जिकिर गरे ।
उनले भने ‘करका दरको विषयमा अर्थमन्त्रीबाहेक कसलाई थाहा हुन्छ ? त्यो कुरा स्वयं अर्थमन्त्री र उनले स्वीकृत गरेको व्यक्तिबाहेक अरू कसैलाई पनि थाहा हुँदैन । तर आज सूचना लिक भएर ७५६ वटा गाडी केरला नाकाबाट भित्रिन्छन्, १४ गते भन्सार पास गरिन्छ । अनि जेठ २० गते गाडी आउँछन् । अनि यो चुहावट कसले गर्यो ? अनि सरकारले आफैँले छानबिन समिति बनाउँछ । आफैँले समिति बनाएर कर्मचारी डाम्नेतिर जान्छ । बजेट बन्दाखेरी करका दरको हेरफेर गर्ने कुरा अर्थमन्त्रीबाहेक कसैलाई थाहा हुँदैन । त्यसको दुरुपयोग गरेमा राजद्रोहको मुद्दा चल्ने नेपालमा कानुनी व्यवस्था छ सम्माननीय सभामुख महोदय । आजको कसको आधारमा गरियो यसको जवाफ अर्थमन्त्रीले संसदमा दिनुपर्छ ।’
उनले संख्याकै बलमा कुशासनको बाटोमा नलाग्न समेत रास्वपालाई आग्रह गरे ।








