एशियाली खेलकुदमा पदक जित्ने लक्ष्यका साथ नेपाली क्रिकेट टोली तयार

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाली राष्ट्रिय क्रिकेट टोली एशियाली खेलकुदमा पदक जित्ने स्पष्ट लक्ष्यका साथ अघि बढिरहेको बताएका छन् ।
छनोट प्रतियोगिताको पूर्वसन्ध्यामा टोली बिदाइका क्रममा आयोजित कार्यक्रममा शुभकामना दिँदै खड्काले वर्तमान लय र तयारीका आधारमा नेपाल पदकको बलियो दाबेदार रहेको उल्लेख गरे ।
उनले सन् २०२८ को ओलम्पिकमा क्रिकेट समावेश भइसकेको सन्दर्भमा एशियाली खेलकुदको महत्व झन् बढेको बताए । सन् २०१० देखि एशियाली खेलकुदमा क्रिकेट समावेश भएयता नेपालले छनोट चरण पार गर्दै पदकसम्म पुग्ने लक्ष्य राख्नुपर्ने उनको भनाइ थियो ।
खड्काले टी–२० फर्म्याटमा कुनै पनि टोलीलाई कमजोर आँक्न नहुने भन्दै खेल अत्यन्त प्रतिस्पर्धात्मक हुने भएकाले नेपाल पूर्ण रूपमा केन्द्रित रहेको बताए ।
उनले भने, ‘गत समयको खेलमा हामी पदक जित्न निकै नजिक थियौँ । अहिलेको छनोट प्रतियोगिता पदकको लक्ष्यतर्फ पुग्ने महत्वपूर्ण खुड्किलो हो । नेपाली टोलीले पछिल्लो समय समातेको लयलाई निरन्तरता दिन सक्ने विश्वास छ । एसियाली खेलकुदमा पदक प्राप्त गर्नु राष्ट्रका लागि ठूलो उपलब्धि हुनेछ । कागजमा प्रतिद्वन्द्वी टोली तल्लो वरीयताका देखिए पनि टी–२० क्रिकेटमा जे पनि हुन सक्छ । त्यसैले हामी पूर्ण रूपमा केन्द्रित छौँ ।’
नेपाली टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट लले खेलाडीहरू पूर्ण रूपमा तयार रहेको बताएका छन् । उनले राष्ट्रिय टोली र ‘ए’ टोलीका खेलाडीहरू पछिल्ला हप्तादेखि निरन्तर खेलिरहेकाले उच्च मनोबलमा रहेको उल्लेख गरे ।
उनका अनुसार टोलीले पछिल्ला दुई दिन विशेष रूपमा टी–२० क्रिकेटमा केन्द्रित रहेर अभ्यास गरिरहेको छ । प्रशिक्षक लले प्रतियोगितालाई गम्भीरताका साथ लिइएको र उद्देश्य जित नै रहेको स्पष्ट पारे । उनले भने, ‘हामी केवल सहभागिताका लागि होइन, जितका लागि जाँदैछौँ ।’
जापानमा हुने प्रतियोगितालाई उनले महत्वपूर्ण अवसरका रूपमा व्याख्या गर्दै त्यहाँको क्रिकेट वातावरण बुझ्ने अवसरसमेत हुने बताए । साथै सिंगापुर भ्रमणले पनि टोलीलाई अनुभव दिलाउने उनको भनाइ छ ।
त्यस्तै, कप्तान दीपेन्द्रसिंह ऐरीले टोलीको तयारी उत्साहजनक र प्रभावकारी रहेको बताएका छन् । उनले खेलाडीहरू उच्च मनोबलमा रहेकाले राम्रो नतिजा आउने विश्वास व्यक्त गरे । ‘हाम्रो तयारी एकदमै राम्रो भइरहेको छ र अहिले टोलीको माहोल पनि निकै सकारात्मक छ । टोलीको यो अवस्था हेर्दा हामी सिंगापुरमा पनि उत्कृष्ट प्रदर्शन गर्दै राम्रो नतिजा लिएर आउनेछौँ’ उनले भने ।
टोलीको घोषणा अनुसार दीपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपालले छनोट प्रतियोगिता खेल्नेछ । टोलीमा रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप लामिछाने, करण केसी, सोमपाल कामी, सन्दीप जोरा, लोकेश बम, शेर मल्ल, नन्दन यादव र शाहब आलमलगायत खेलाडी समावेश छन् । कुशल मल्लले पुनरागमन गरेका छन् ।








