स्वास्थ्य र शिक्षालाई बजेटमा उच्च प्राथमिकता दिन सरकारसँग काँग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य र शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिन सरकारसँग माग गरेको छ ।

आगामी बजेट तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक बासना थापाले काँग्रेसको यो आधिकारिक धारणा रहेको बताइन् ।

उनले विगतमा बजेटमा भौतिक पूर्वाधारलाई बढी प्राथमिकता दिइँदै आएको उल्लेख गर्दै यसपटक नागरिकको प्रत्यक्ष सरोकार रहने स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याइन् ।

थापाले भनिन्, ‘विगत केही वर्षदेखि सरकार परिवर्तन भइरहँदा बजेट कार्यान्वयन सन्तोषजनक छैन । यसपटक नेपाली काँग्रेसले पूर्वाधारभन्दा स्वास्थ्य र शिक्षालाई बढी जोड दिनुपर्छ भन्ने मान्यता राखेको छ । सरकारसँग झन्डै दुई तिहाइको समर्थन छ, तर त्यसको सही प्रयोग हुन सकेको छैन । विगतमा प्रतिपक्षका सुझाव र आवाज समेट्ने अभ्यास थियो, तर अहिले प्रतिपक्षले उठाएका प्रश्नहरूको समेत जवाफ पाइरहेका छैनौँ । यो जनताप्रतिको उत्तरदायित्वको कमी र गैरजिम्मेवारीपन हो ।’

उनले गणतन्त्र दिवस जस्तो महत्वपूर्ण अवसरमा सरकार प्रमुखको भूमिका र उपस्थितिबारे बाहिर आएका प्रश्नहरूबारे पनि संसदीय दलको बैठकमा छलफल भएको जानकारी दिइन् ।

त्यसैगरी राष्ट्रिय मानव अधिकार आयोगले हालै सार्वजनिक गरेको प्रतिवेदनमा विभिन्न राजनीतिक दलका नेताहरूको नाम मुछिएको प्रसङ्गमा बोल्दै थापाले कानुन सबैका लागि बराबर हुने बताइन् ।

उनले भनिन्, ‘कानुनसम्मत जोसुकैमाथि कारबाही हुन्छ भने काँग्रेसले त्यसलाई स्वीकार गर्छ । तर तथ्य र सत्यको आधारमा मात्र अगाडि बढ्नुपर्छ । पहिले समात्ने र पछि अनुसन्धान गर्ने मिडिया ट्रायलको प्रवृत्ति भने बन्द हुनुपर्छ ।’

संसदीय दलको बैठकले दलभित्रका रिक्त पदहरू पूर्ति गर्ने तथा विषयगत समितिहरूमा सांसदहरूको भूमिकालाई थप प्रभावकारी बनाउन संयोजक तोक्ने निर्णय पनि गरेको छ । पार्टीभित्रका असन्तुष्टि आन्तरिक विषय भएको र सबै सांसदहरू जनताका मुद्दा उठाउन एकजुट रहेको काँग्रेसले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 15 =