‘गरिबलाई नजिस्का सरकार’ भन्दै माइतीघरमा सुकुम्वासीहरूको प्रदर्शन

काठमाडौँ । सरकारले सुकुम्वासीमाथि दमन गरेको भन्दै काठमाडौँमा प्रदर्शन गरिएको छ ।
होल्डिङ सेन्टरमा पीडा सहन नसकेपछि विरोधमा उत्रिएका सुकुम्वासीहरूमाथि सरकारले बर्बर दमन गर्दै नियन्त्रणमा लिएपछि त्यसको विरोधमा आइतबार काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो ।
सरकारले गरिब सुकुम्वासीहरूमाथि समेत बर्बर दमन गरेपछि त्यसको विरोधमा प्रदर्शनमा उत्रिन बाध्य हुनुपरेको संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा, नेपालका कार्यवाहक अध्यक्ष नारायण परिश्रमीले बताए ।
उनले सरकारविरुद्ध आफूहरूले देशव्यापी आन्दोलन चर्काउने चेतावनी समेत दिए ।
कार्यवाहक अध्यक्ष परिश्रमीले भने ‘पञ्चायत कालमा पनि यति साह्रो बर्बर दमन भएको थिएन गरिबहरूमाथि । यो बर्बर दमन भएको छ । अव ७० लाख सुकुम्वासीहरूले अब सहने छैनन् । यसैको विरोधमा आज हामीले भत्सर्नास्वरुप विरोध गर्नका लागि सुकुम्वासी अभियन्ता संघ, संगठन, जेनजी मोभमेन्टका भाइबहिनीहरू, आज यो माइतीघर मण्डलामा आएका छौँ । सरकारले झन् ज्यान जोखिममा पारेर बाढी नै कम्मर कम्मरमा आउने गरेर सरकारले राखेको छ । यो हो व्यवस्थापन सरकारको ? यो नामर्द सरकार हो । यो कायर सरकार । गरिबहरूसँग किन डराउनु परेको ? सक्छौ व्यवस्थापन गर सरकार । सक्दैनौ भने हामी त्यही थाँतथलोमा आएर बस्छौँ । अब हामी देशव्यापी आन्दोलन गर्दछौँ । त्यो बेला यो सरकारको आयु कति लामो हुन्छ ? गरिबलाई नजिस्का सरकार । हामी गरिबलाई जिस्क्याई भने तेरो आयु कम हुन्छ । यो सरकारको आयु करिब सकिएको जस्तो लाग्दै छ ।’
त्यस क्रममा प्रर्दशनकारीहरुले सरकारको दमन र गैरन्यायिक पक्राउ विरुद्ध चर्का नाराबाजी लगाएतका थिए । सुकुम्वासीमाथिको अन्यायको अन्त्य गर, जनताको आवाज दबाउन पाइँदैन, गरिबमाथिको अन्याय बन्द गर, सुकुम्वासी यहाँ छ, रवि–बालेन कहाँ छ ? गरिवमारा सरकार–मुर्दावाद लेखिएको प्लेकार्ड पनि प्रदर्शनकारीहरूले प्रदर्शन गरेका थिए ।









