हिजोका सरकारले के गरे वा गरेनन् भन्ने बहानामा अब उम्किने समय छैनः डा. सुनिल शर्मा

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. सुनिल शर्माले सडक, पुल, भवन वा कुनै पनि भौतिक पूर्वाधारभन्दा शिक्षित र स्वस्थ नागरिक नै राष्ट्रको सबैभन्दा ठुलो लगानी र सम्पत्ति भएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता शर्माले शिक्षा नै सामाजिक, आर्थिक, रोजगारी तथा समग्र विकाससँग जोडिएका अधिकांश समस्याको दीर्घकालीन समाधान भएको उल्लेख गरेका छन् । हरेक वर्ष बजेटमा ठुला घोषणा गरिए पनि आजसम्मका कुनै पनि सरकारले शिक्षा, स्वास्थ्य, सीप विकास र युवा सशक्तीकरणलाई राष्ट्र निर्माणको केन्द्रमा राख्न नसकेको उनको आरोप छ । राज्यले हरेक नागरिकलाई गुणस्तरीय शिक्षाको अवसर र बिरामी हुँदा सहज, सुलभ तथा आवश्यक पर्दा निःशुल्क उपचार पाउने व्यवस्था सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

‘समृद्ध, न्यायपूर्ण, अवसरमूलक र समतामूलक राष्ट्र निर्माणको सबैभन्दा बलियो आधार नै यही हो,’ डा. शर्माले भनेका छन् । उनले सबै कुरा एकैपटक सम्भव नभए पनि स्पष्ट लक्ष्यसहितको पाँच वर्षे कार्ययोजना बनाएर चरणबद्ध रूपमा काम गर्न सरकारलाई सुझाव दिएका छन् ।
हरेक घरका २५ वर्षमुनिका युवालाई गुणस्तरीय प्राविधिक शिक्षाको अवसर सुनिश्चित गर्नुपर्ने, योग्य युवालाई डाक्टर, नर्स, इन्जिनियर, चार्टर्ड एकाउन्टेन्ट, आईटी तथा एआई विशेषज्ञ बन्ने वातावरण सिर्जना गर्नुपर्ने र आर्थिक रूपमा कमजोर विद्यार्थीलाई सफ्ट लोन वा छात्रवृत्ति उपलब्ध गराउनुपर्ने उनको भनाइ छ।
युवाको हातमा शिक्षा, सीप र सम्मानजनक रोजगारी पुगेमा बेरोजगारी, गरिबी, वैदेशिक पलायन, निराशा र आत्मदाह जस्ता पीडादायी घटनाहरू उल्लेखनीय रूपमा घटाउन सकिने दाबी गर्दै उनले भने, ‘शिक्षामा गरिएको लगानीले समृद्ध राष्ट्रको बलियो आधार तयार गर्छ भने स्वास्थ्यमा गरिएको लगानीले स्वस्थ, सक्षम र आत्मनिर्भर नागरिक निर्माण गर्छ । यसका लागि केवल दूरदृष्टि, इमानदार नेतृत्व र दृढ राजनीतिक इच्छाशक्ति आवश्यक छ।’

पछिल्लो समय चिकित्सा शिक्षा र समग्र शैक्षिक क्षेत्रमा हुने गरेका आन्दोलनहरूतर्फ संकेत गर्दै डा. शर्माले कुनै एक व्यक्तिको अनशन वा आन्दोलनको लहडमा हजारौँ विद्यार्थीको पढाइ प्रभावित हुनु र भविष्य अन्योलमा पर्नु लोकतान्त्रिक समाजका लागि स्वीकार्य नहुने बताए । विद्यार्थीको शिक्षा र भविष्यभन्दा माथि कुनै पनि राजनीति हुन नसक्ने उनको तर्क छ ।
वर्तमान सरकारलाई प्रश्न गर्दै उनले जनताले हिजोका सरकारले नगरेका काम गर्नका लागि ठुलो जनादेश दिएकाले अब बहाना बनाएर उम्किने ठाउँ नरहेको उल्लेख गरे । क्षणिक र सस्तो लोकप्रियताभन्दा देश परिवर्तनको वास्तविक आधार शिक्षित र सीपयुक्त नागरिक नै भएकाले सरकारले शिक्षा, स्वास्थ्य र मानव विकासलाई कहिले मुख्य राष्ट्रिय नीति बनाउँछ भन्दै उनले प्रश्न समेत गरे ।









