पनौतीका १३७ सुकुमवासीले दिए निवेदन

काभ्रेपलाञ्चोक । सरकारले सुकुमवासीलाई व्यवस्थित गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमार्फत गरेको परिपत्रअनुसार पनौती नगरका विभिन्न वडाबाट १३७ सुकुमवासी परिवारले आफूलाई व्यवस्थित गर्न निवेदन दिएका छन् ।

नगरको सार्वजनिक सूचनाअनुसार रोशी खोला–आसपास बसेका सुकुमवासीले उक्त सङ्ख्यामा हालसम्म निवेदन गरेको नगर कार्यालयले जनाएको छ ।

नगर कार्यालयका अनुसार निवेदन आउने क्रम रहे पनि ती परिवारलाई स्थानान्तरण गर्ने गरी उनीहरूका घर खाली गराउन प्रक्रिया थालिएको छ ।

नगरले विशेष गरी खोला किनार र उच्च जोखिमयुक्त क्षेत्रमा रहेका बस्तीलाई प्राथमिकतामा राख्दै व्यवस्थापन प्रक्रिया अघि बढाउने तयारी थालिएको नगरप्रमुख रामशरण भण्डारीले बताए ।

उनकाअनुसार अझै नगर क्षेत्र तथा सम्बन्धित वडा कार्यालयमा सार्वजनिक जग्गा तथा सुकुमवासी बस्तीसम्बन्धी निवेदन सङ्कलनकार्य जारी राखिएको छ ।

नगर कार्यालयका अनुसार हालसम्म वडा नं ७ र ८ लगायत विभिन्न वडाबाट १३७ जनाको निवेदन दर्ता भइसकेको छ । यस्तै बाँकी वडाबाटसमेत विवरण आउने क्रम जारी रहेको जनाइएको छ ।

यस्तै वडा नं २ बाट ५३, वडा नं ४ बाट ७, वडा नं ५ बाट ८, वडा नं ७ बाट १५, वडा नं ८ बाट ७, वडा नं ९ बाट ९, वडा नं १० बाट २४, वडा नं ११ बाट ८ तथा वडा नं १२ बाट ६ परिवारको निवेदन दर्ता भएको हो ।

नगर कार्यालयले पहिलो चरणमा रोशी खोला छेउका जोखिमयुक्त बस्ती हटाउने योजना बनाएको जनाएको छ । वर्षायाममा बाढी र कटानको उच्च जोखिम हुने भएकाले त्यस्ता क्षेत्रमा बसोबास गर्ने नागरिकको सुरक्षालाई ध्यानमा राखेर प्रक्रिया अघि बढाइएको भण्डारीको भनाइ छ ।

स्थानीय तहले सार्वजनिक जग्गाको संरक्षणसँगै दीर्घकालीन व्यवस्थापनको विकल्प खोज्ने तयारीसमेत गरिरहेको जनाएको हो । यसका लागि वास्तविक सुकुम्बासीको पहिचान, तथ्याङ्क सङ्कलन र आवश्यक समन्वयको काम भइरहेको जनाइयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − one =