संसदले खोजीरहँदा पनि हाम्रा प्रधानमन्त्री चुपचाप हुनुहुन्छः रोकाय

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभाका प्रमुख सचेतक कृष्णबहादुर रोकायले संसदमा प्रधानमन्त्री खोजी भइरहँदा पनि सरकार प्रमुख मौन रहेको भन्दै आपत्ति जनाएका छन् ।
शुक्रवार राष्ट्रिय सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले प्रधानमन्त्री बालेन्द्र साहले “नबोलेरै देशलाई चमत्कारिक रूपमा बदल्ने अठोट” लिएको जस्तो देखिएको भन्दै कटाक्ष गरे । संसदमा प्रधानमन्त्रीको उपस्थिती र जवाफदेहितामाथि प्रश्न उठाउँदै उनले सरकार जनताका समस्याप्रति गम्भीर बन्नुपर्ने बताए ।
“हाम्रो देशका सम्माननीय प्रधानमन्त्रीज्यूलाई बोल्ने पनि फुर्सद छैन । र नबोलेर नै देशलाई चमत्कारिक रूपमा बदल्ने अठोट गर्नुभएको छ । जसको परिणाम संसदले प्रधानमन्त्री खोजीरहेको छ,” उनले भने ।
रोकायले प्रधानमन्त्री व्यस्त र चुपचाप बसेको टिप्पणी गर्दै जनतासँग प्रत्यक्ष जोडिएका विषयमा सरकार संवेदनशील हुनुपर्ने धारणा राखे ।
त्यस अवसरमा उनले देशभर क्यान्सर उपचारका लागि आवश्यक औषधिको अभाव भएको उल्लेख गर्दै तत्काल आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरे ।
“क्यान्सरका अतिआवश्यक औषधिको आपूर्ति गरी देशभरका बिरामीहरूको जीवन रक्षा गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछु,” उनले भने ।
राष्ट्रिय सभा बैठकमा उनले क्यान्सर उपचारमा प्रयोग हुने औषधिको अभावका कारण बिरामीहरू समस्यामा परेको भन्दै तत्काल समाधानको व्यवस्था गर्न सरकारलाई सचेत पनि गराए ।








