हनुमन्ते अझै दुर्गन्धमै (तस्बिरहरू)

काठमाडौँ । उपत्यकाका अन्य नदीहरूले बिस्तारै आफ्नो स्वरूप फेर्दै गर्दा भक्तपुरको मुटु भएर बग्ने ‘हनुमन्ते खोला’ भने अझै पनि उपेक्षित र दुर्गन्धित अवस्थामा छ । एकातिर बागमती र धोबीखोला ढलमुक्त हुँदै ‘चिरिच्याट्ट’ देखिन थालेका छन् भने अर्कोतिर हनुमन्तेले भने अझै आफ्नो अस्तित्व जोगाउन सङ्घर्ष गरिरहनु परेको छ ।
पूर्व प्रधानमन्त्रीको अभिव्यक्ति र वर्तमान यथार्थ:
गत वर्षको साउन १६ गते (२०८२ साल) एक कार्यक्रमलाई सम्बोधन गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले हनुमन्ते खोलालाई नेपालको फोहोर क्षेत्रको उदाहरणका रूपमा उल्लेख गरेका थिए । उनले भनेका थिए:
‘हनुमन्तेलाई हेरेर नेपाल फोहोर छ भन्न मिल्दैन । कतिपय ठाउँमा त्यस्तो अवस्था होला, तर नेपाललाई स्वच्छ र स्वस्थ राख्न सकिन्छ । हामी फोहोर व्यवस्थापन गर्न सक्छौँ ।’
तत्कालीन प्रधानमन्त्रीले बागमती सफाइ अभियानको सफलतालाई उदाहरणका रूपमा पेस गरिरहँदा, हनुमन्तेको तीरमा बस्ने बासिन्दाहरू भने अझै पनि सोही दुर्गन्धमा सास फेर्न बाध्य छन् ।
कस्तो छ त हनुमन्तेको वर्तमान दृश्य ?
आज हनुमन्ते खोला केवल एउटा जलस्रोत मात्र रहेन, यो फोहोर विसर्जन गर्ने थलो र ढलको निकास बन्न पुगेको छ । खोलाको किनारै किनार हेर्ने हो भने घरहरूबाट निस्कएका सेप्टी ट्याङ्कीका ढल सिधै खोलामा मिसाइएको छ । प्लास्टिक, फोहोर र ढलले खोलाको किनार मात्र होइन, बहावलाई नै कुरूप बनाइदिएको छ ।
स्थानीय बासिन्दा र पैदल यात्रीहरू लामो समयदेखि दुर्गन्धले गर्दा सास्ती भोग्दै आएका छन् । कुनै समय धार्मिक र प्राकृतिक महत्त्व बोकेको हनुमन्ते खोला अहिले केवल ढल र फोहोरको डङ्गुरमा सीमित भएको छ । यहाँको तीव्र दुर्गन्धले गर्दा स्थानीय बासिन्दा र पैदल यात्रीहरूको जनजीवन कष्टकर बनेको छ ।
नेतृत्वको खडेरी र नागरिक दायित्व: कसको पोल्टामा हनुमन्तेको भविष्य?
हनुमन्ते खोलाको दुरवस्था आजको नयाँ विषय होइन । लामो समयदेखि यो खोला सञ्चारमाध्यमका लागि एउटा ‘हटकेक’ समाचार र हेडलाइन बन्दै आएको छ, तर विडम्बना! हनुमन्तेको रङ भने अझै फेरिएको छैन । उस्तै छ । कालो । दुर्गन्धले भरिएको ।
किनारमा फोहोर फाल्ने क्रम नरोकिनुले स्थानीयको दायित्वमा पनि प्रश्न उठाएको छ । साथै हनुमन्ते सफाइमा स्थानीय निकायको भूमिका केवल आश्वासनमा सीमित भएको देखिन्छ ।
तस्बिरमा हेर्नुहोस् हनुमन्ते खोला:









