नयाँ वर्षमा रानीपानीमा महिला लक्षित खेलकुद कार्यक्रम, पुरस्कारमा बंगुरको पाठी र कुखुरा !(तस्बिरहरु)

काठमाडौँ । नयाँ वर्षको अवसरमा तनहुँको भानु नगरपालिका–९ रानीपानीमा महिलाहरूका लागि लक्षित विशेष खेलकुद कार्यक्रम सम्पन्न भएको छ ।
ईन्द्रेणी एग्रो फर्मको प्रायोजनमा आयोजित उक्त कार्यक्रममा बंगुरको पाठापाठी समाउने खेल र भलिबल प्रतियोगिता सम्पन्न गरिएको हो । कार्यक्रममा बंगुरका पाठापाठी समाउने खेलमा ८ जना सहभागी भएका थिए भने भलिबलतर्फ ६ वटा टोलीले प्रतिस्पर्धा गरेका थिए ।
कार्यक्रमका आयोजक फर्मका सञ्चालक लिलामान श्रेष्ठ र श्रवण श्रेष्ठ रहेका थिए । प्रतियोगितामा बंगुरको पाठापाठी समाउने खेलतर्फ प्रथम हुनेलाई सोही बंगुरको पाठी पुरस्कार स्वरूप प्रदान गरिएको थियो भने भलिबलतर्फ विजेतालाई कुखुरा पुरस्कार दिइएको थियो ।
बंगुरको पाठापाठी समाउने खेलमा कल्पना विक प्रथम भएकी छन् । त्यसैगरी भलिबल प्रतियोगितामा कालीमाटी क्लबले पहिलो स्थान हासिल गरेको आयोजकले जनाएको छ ।
स्थानीय महिलाहरूको सहभागिता र उत्साहजनक उपस्थितिले कार्यक्रम सफल बनेको आयोजकको भनाइ छ ।









