देउवा पक्षलाई गगनको चेतावनी- क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्यमा डिस्टर्ब नगरियोस्

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक नगर्नेहरू पार्टीको सदस्य नरहने चेतावनी दिएका छन् ।

शेरबहादुर देउवा पक्षले सो कार्य नगर्ने अडान लिइरहेका बेला उनले यस्तो चेतावनी दिएका हुन् ।

मंगलवार काठमाडौँ वडा नम्बर ३० स्थित पार्टीको वडा कार्यालयमा पुगेर पार्टीको क्रियाशील सदस्यताको अद्यावधिक गर्नका लागि निवेदन दिए लगत्तै सभापति थापाले सञ्चारकर्मीहरूमाझ पार्टीको सो काममा अवरोध गर्ने कुनै पनि खालका गतिविधि नगर्न सिङ्गो पार्टी पंक्तिलाई सचेत गराए ।

उनले पार्टीको विधान अनुसार सो काम सुरु गरिएकाले पार्टीका नेता, कार्यकर्तालाई आ आफ्नो वडा पार्टी कार्यालयमा पुगेर क्रियाशील सदस्यता अद्यावधिक गर्ने काम गर्न पनि निर्देशन दिए । सभापति थापाले सो कामलाई पार्टीको सदस्यता खाइदिने काम गरेको भन्दै कोलाहल मच्चाउने काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।

सो काममा आफूलाई सबैको सहयोगको आवश्यकता रहेको पनि सभापति थापाको भनाई थियो ।

उनले भने ‘पार्टीको क्रियाशील सदस्यताको निरन्तरताका लागि अद्यावधिक गर्ने कुरा पार्टीको विधान सम्मत छ । यो आवश्यक पनि छ । त्यसैले यो काममा कसैले पनि डिस्टर्ब नगरिदिनु होला । कसैले म काँग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्दिन भन्नु हुन्छ भने उहाँ पार्टीको क्रियाशील सदस्य रहनु हुन्न । पार्टीको विधानले यही भन्छ । पार्टी केन्द्रीय सदस्य साथीहरू यही हुनुहुन्छ । मैले सबैलाई गर्ने अनुरोध यही हो । मैले आज सुरु गरेँ । अव वैशाख १५ गते भित्र तपाईँहरूले पनि आ आफ्नो वडा पार्टी कार्यालयमा गएर सबै साथीहरू आ आफ्नो ठाउँमा जानुपर्छ । त्यो ठाउँबाट अद्यावधिक गर्नुपर्छ । कोही साथीहरूले विशेष अवस्थाले जान नसक्ने हुनुहुन्छ । कोही साथी देश बाहिर हुनुहुन्छ । यो सबै कुरा पार्टीले बुझेको छ । त्यस्तो अवस्थामा हामी त्यही अनुसार विशेष व्यवस्था गर्दछौ । पार्टीको यो काममा मलाई सबैको सहयोग चाहिन्छ । कसैले यो सदस्यताको बारेमा केही कुरा बुझ्नु भएको छैन भने कृपया पार्टीको केन्द्रीय कार्यालय आइदिनु होला । महामन्त्रीहरूले जिम्मा लिनु भएको छ । त्यहाँ बुझाई दिनु हुन्छ । तर बाहिर यो सदस्यताको बारेमा यो हुन लाग्यो, त्यो हुन लाग्यो । हाम्रो सदस्यता कसैले खोसिदिन लाग्यो हाम्रो सदस्यता कसैले खाइदिन लाग्यो भनेर अनावश्यक रूपमा कोलाहल मचाईदिने काम नगरीदिन पनि म सबैलाई आग्रह गर्न चाहन्छु ।’

काँग्रेसले विशेष कारणवश वडा पार्टी कार्यालयमा जान नसक्नेहरूका लागि क्रियाशील सदस्यता अद्यावधिक गर्नका लागि विशेष व्यवस्था गर्ने पनि जनाएको छ । सभापति थापाले काँग्रेसको निरन्तरताका लागि सम्बन्धित सबै नेता, कार्यकर्ताहरूले सो कार्यमा अनिवार्य सहभागी हुनुपर्ने स्पष्ट पारे ।

पार्टीको सो कार्य विधानसम्मत भएकाले त्यसलाई पालना गरेर अघि बढ्नु पार्टीका सबै नेता, कार्यकर्ताहरूको दायित्व रहेको सभापति थापाको भनाई थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + nineteen =