एमालेभित्र नेतृत्व पुनर्गठनको बहस, नयाँ समझदारीको प्रयास

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र नेतृत्व पुनर्गठनको बहस तीव्र बन्दै गएको छ । पार्टीका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीच नयाँ समझदारीको प्रयास भइरहेको स्रोतले बतायो ।

पार्टीका एक पदाधिकारीका अनुसार पौडेल र पोखरेलबीच अध्यक्ष केपी शर्मा ओलीलाई सम्मानजनक बिदाइका लागि आग्रह गर्ने र समग्र नेतृत्व पुनर्गठन गर्ने विषयमा छलफल भएको छ ।

“उहाँहरूबीच पुनर्गठनको विषयमा सकारात्मक कुराकानी भएको छ । महासचिव पोखरेल पनि नेतृत्व पुनर्गठनप्रति सकारात्मक देखिनु भएको छ, र छिट्टै समझदारीमा पुग्ने सम्भावना बढेको छ,” ती नेताले भने ।

पौडेलनिकट स्रोतले समेत महासचिव पोखरेल नेतृत्व परिवर्तन आवश्यक रहेको निष्कर्षमा पुगेको दाबी गरेको छ । “महासचिव पोखरेलले पनि पुनर्गठनकै मनस्थिति बनाइसक्नु भएको छ,” स्रोतले भन्यो ।

यसको संकेत हालैको सचिवालय बैठकबाट समेत देखिएको ती नेताहरूको दाबी छ । प्रतिनिधिसभाको बैठकमा दलका नेता रामबहादुर थापा ‘बादल’ले दिएको अभिव्यक्तिपछि पार्टीभित्र विवाद उत्पन्न भएको थियो । उक्त अभिव्यक्तिमा विभिन्न संस्था र पात्रहरूको भूमिकाबारे गरिएको टिप्पणीप्रति उपाध्यक्ष पौडेलले आपत्ति जनाएका थिए र तत्काल सचिवालय बैठक बोलाउन माग गरेका थिए ।

त्यसपछि बसेको सचिवालय बैठकले बादलको अभिव्यक्ति सच्याउँदै पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेको थियो । महासचिव पोखरेलद्वारा जारी विज्ञप्तिमा राज्यका सुरक्षा निकाय, निजामती प्रशासन तथा अन्तर्राष्ट्रिय समुदायसँग पार्टीको सम्बन्ध पूर्ववत् र मित्रवत् रहने स्पष्ट पारिएको थियो ।

बैठकमा महासचिव पोखरेलले जनादेशको सम्मान हुनुपर्नेमा जोड दिएका थिए । “पार्टीले जनादेशको सम्मान गर्नुपर्छ, त्यसविपरीत धारणा आउनु हुँदैन,” उनले बैठकमा धारणा राखेको एक पदाधिकारीले बताए ।

पार्टीभित्र विकसित यी घटनाक्रमले उपाध्यक्ष पौडेल र महासचिव पोखरेलबीच नेतृत्व पुनर्गठनबारे बढ्दो समझदारीको संकेत गरेको विश्लेषण गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + fourteen =