ससुरा–ज्वाइँको ट्याग भिराएर मलाई र गगनलाई हान्ने प्रयास भयो: अर्जुन नरसिंह केसी

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं समानुपातिक सांसद अर्जुननरसिंह केसीले ससुरा–ज्वाइँको ट्याग भिराएर आफू र पार्टी सभापति गगनकुमार थापामाथि प्रहार गर्न खोजिएको आरोप लगाएका छन् ।

आफूलाई पार्टी सभापति थापाको ससुरा भएकै कारण अवसर पाएको भनी हुने गरेका टिप्पणीले आफूलाई फरक नपर्ने बताएका हुन् । वि.स. २०१७ पुस १ गते राजा महेन्द्रले गरेको ‘कू’ विरुद्ध पर्चा बाँड्दै गर्दा आफूले जेल जीवन सुरु गरेको र पार्टी जीवनमा आफ्नो छुट्टै पहिचान भएको उनको दाबी छ ।

केसीले पार्टी निर्माण र लोकतन्त्र संस्थागत गर्न आफूले गरेको योगदानबारे थाहा नभएकाहरूले सभापति थापाको ससुराको रूपमा मात्र चिन्ने गरेको भन्दै तिनीहरूलाई जवाफ दिइरहनुपर्ने बताए । उनले पशुपति दर्शन छिद्राको व्यापार भनेजस्तै आफ्नो नाम सभापति थापासँग जोडेर हुने गरेको टीकाटिप्पणीहरू बनीबनाउ षड्यन्त्र भएको बताए । उनले नेपाली काँग्रेसभित्रै बाट आफ्नो पहिचान गगन थापाको ससुराको रूपमा मात्र सीमित गर्ने प्रयास गरिएको भन्दै आपत्ति समेत जनाए ।

पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, नेतृ शैलजा आचार्य र पूर्व प्रधानमन्त्री सुशील कोरालासहितको प्रसंग निकाल्दै केसीले पार्टीमा कयौँ नेताहरूले आफ्नै योगदानका आधारमा भूमिका पाएको भन्दै पारिवारिक सम्बन्धलाई मात्र आधार बनाएर आलोचना गर्नु उचित नहुने बताए ।

केसी भन्छन्, ‘२०१८ साल वैशाख ५–६ गते २०१७ सालको राजाको कदमको विरुद्ध पर्चा बाँड्दै गर्दा जेल परेर जुन यात्रा अर्जुन नरसिंहको बारेमा केही थाहा नभएर मलाई केही थाहा नभएको खाली गगनको ससुरा मात्रै चिनेका पत्रकारहरूलाई अथवा सामाजिक सञ्जालको मान्छेलाई मैले के जवाफ दिइरहने ? उहाँहरूलाई धन्यवाद कम्तीमा एउटा जबर्जस्त देशले विश्वास गरेको ज्वाइँको नाम मसँग जोड्नुभयो, म त्यसमा धन्यवाद दिन चाहन्छु । होइन भने यो बनीबनाउ षड्यन्त्र हो । पशुपति दर्शन छिद्राको व्यापार भन्छन् नि कहिलेकहीँ । एउटा मट्याङ्ग्राबाट गगनजीलाई पनि तेजोवध गर्ने मलाई पनि तेजोवध गर्नको निम्ति गरिएको प्रयत्न हो । यस्ता प्रयत्न विभिन्न कोणबाट भएका छन् । जानीजानी गरिएका छन् । काँग्रेसभित्रबाट पनि भयानक भएको छ, अरू पार्टीको नाम लिन्नँ । त्यसले मलाई के असर पर्या छ ? म अर्जुननरसिंह आफू जे छु त्यो छु मलाई समाजले चिन्या पनि छ । अब त्यसलाई गलत भन्नेहरूले भनेका पनि छन् । कसैले त्यसमा रमाइलो मानेका छन् भने त्यसमा उनीहरूलाई रमाइलो मान्न दिऊँ न । मेरो मेरो नाम लिएर कसैलाई रमाइलो लाग्छ भने मैले टाउको दुखाउनुपर्ने कारण के छ ? तर मेरो पहिचान गगनको ससुराको रूपबाट लिने, गगन ज्वाइँ हुँदाखेरि म गर्व गर्छु यो देशले अत्यन्त प्रभावकारी रूपले पत्याएको नेतृत्व मध्ये उहाँ हुनुहुन्छ । उहाँको सशक्त्ता र जीवन्तता अहिले अझ बढ्ता आवश्यकता छ त्यो एउटा पक्ष भयो । तर म अर्जुननरसिंह गगनको ससुरा भएर चिन्ने चिनाउने यो जुन खालको खेल खेल्नेमा रमाउनेहरू छन् नि उनीहरूलाई पुगोस्, उनीहरूलाई राम्रो होस् । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदाहुँदै अथवा सभापति हुँदाहुँदै उपसभापति शैलजा आचार्य भएको होइन ? शैलजा आचार्यको आफ्नै इतिहास थियो, आफ्नै योगदान थियो । कसैले प्रश्न उठाउने कुरा पनि भएन । उहाँ त्यही बेलामा गिरिजाबाबु हुँदा मन्त्री उपप्रधानमन्त्री भएको होइन ? अनि गिरिजाप्रसाद कोइराला सभापति हुँदाहुँदै उपसभापति सुशील कोइरालालाई दिएको होइन ? नाता भनेर एउटा काँचो मान्छे कहिल्यै नचिन्या मान्छेलाई कसैले ल्याएको भए यो एउटा प्रश्न हुन्छ ।’

पार्टी निर्माण र व्यवस्था पुनः स्थापनाका लागि आफूले गरेको योगदानबारे सबैलाई जानकारी गराएर सञ्चारकर्मीहरूले आफूलाई न्याय गर्नुपर्ने उनको भनाइ छ । उहाँले आफू रूपान्तरण र पुस्तान्तरणको वकालत गर्ने भएकै कारण विशेष अधिवेशनको पक्षमा उभिएको दाबी समेत गरे । उनले काँग्रेस बद्लिएको हेर्न नचाहानेहरुले आफूमार्फत सभापति थापामाथि प्रहार गर्न खोजेको भन्दै त्यसले केही फरक नपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 6 =