केपी ओली र रमेश लेखकलाई थप दुई दिन हिरासतमा राख्न आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

बिहीबार न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले उक्त आदेश दिएको हो । अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार अनुसन्धान कार्यलाई निरन्तरता दिन हिरासत म्याद थप गरिएको हो ।

अदालतका अनुसार रमेश लेखकको बयान लिने कार्य सम्पन्न भइसकेको छ भने केपी शर्मा ओलीको बयान लिने प्रक्रिया अझै जारी रहेको छ । आदेशमा उल्लेख गरिएअनुसार ओलीको बयान कार्य सम्पन्न गर्न तथा अन्य अनुसन्धानका काम अगाडि बढाउन चैत १९ गतेदेखि लागू हुने गरी दुई दिन म्याद थप गरिएको हो ।

यसअघि आइतबार जिल्ला अदालत काठमाडौंले दुवैलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो । उक्त म्याद बुधबार सकिएको थियो ।

अदालतको आदेशमा ओलीको स्वास्थ्य अवस्था जटिल रहेको विषय पनि उल्लेख गरिएको छ । म्याद थपको क्रममा उनले श्रव्यदृश्य माध्यममार्फत आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराएका थिए ।

साथै, बयान सकिएपछि उनको स्वास्थ्य उपचारमा असर नपर्ने गरी अनुसन्धान प्रक्रिया अगाडि बढाउन अदालतले निर्देशन दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 8 =