रुसको पेट्रोकेमिकल प्लान्टमा आगलागी, ३ जनाको मृत्यु, ७० भन्दाबढी घाइते

एजेन्सी । रुसको तातारस्तान गणतन्त्रमा एक पेट्रोकेमिकल प्लान्टमा लागेको आगो निभाउने क्रममा एक अग्निनियन्त्रकको मृत्यु भएको छ । यससँगै उक्त दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको रुसी आपतकालीन अवस्था मन्त्रालयले मंगलबार जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आगो निभाउने र मानिसहरूको उद्धार गर्ने क्रममा २७ वर्षीय ती अग्निनियन्त्रक अचानक भएको विस्फोटमा परेका थिए र उनलाई घातक चोट लागेको थियो । खोज तथा उद्धारका साथै आगो निभाउने कार्यका क्रममा अन्य तीन जना अग्निनियन्त्रकहरू पनि घाइते भएका छन् ।

यसअघि, रुसी ग्यास प्रशोधन तथा पेट्रोकेमिकल कम्पनी ‘सिबुर’ले उक्त दुर्घटनामा दुई जनाको मृत्यु भएको र ७० भन्दा बढी घाइते भएको जनाएको थियो ।

कम्पनीकाअनुसार प्रभावित भएको उक्त प्लान्ट पश्चिम रुसमा यसको सहायक कम्पनी ‘निज्नेकाम्स्कनेफ्टेखिम’ द्वारा सञ्चालित छ । मन्त्रालयले जनाएअनुसार प्लान्टको एक पम्पिङ युनिटमा आगो लागेपछि विस्फोट भएको र त्यसपश्चात भीषण आगलागी सुरु भएको थियो।

हाल आगो नियन्त्रणमा आइसकेको मन्त्रालयले बताएको छ । रुसको अनुसन्धान समितिले यस घटनाको सम्बन्धमा छानबिन शुरु गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =