प्रचण्डलाई निर्वाचन समीक्षा तथा सुझावसहितको प्रतिवेदन हस्तान्तरण

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी निकट वाम बुद्धिजीवी एवं पेसाकर्मी निर्वाचन परिचालन मूल समितिले प्रतिनिधिसभा निर्वाचनको समीक्षा तथा सुझावसहितको प्रतिवेदन पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा समितिका संयोजक विष्णुपुकार श्रेष्ठले सो प्रतिवेदन संयोजक दाहाललाई बुझाएका हुन् । सो अवसरमा पार्टीका संयोजक दाहालले बुद्धिजीवी एवं पेसाकर्मीको सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले निर्वाचन अगाडि र पछाडिका राजनीतिक परिस्थितिका बारेमा आफ्ना धारणा राखेका थिए ।
प्रचण्डले पार्टीलाई अब विचाराधारात्मक हिसाबले धारिलो बनाउँदै सङ्गठनलाई व्यवस्थित गरेर जनसरोकारका सवालमा परिचालन गर्न बुद्धिजीवीहरूबाट प्राप्त समीक्षा तथा सुझाव महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे ।
संयोजक दाहालले प्रतिवेदनलाई अध्ययन गरी पार्टीले जनसङ्घर्षलाई आधारभूत तहबाट अगाडि बढाउने बताए । विभिन्न १५ वटा घटक बुद्धिजीवी एवं पेसाकर्मीलाई समेटेर गठन गरिएको समितिमा देशभरका बुद्धिजीवी, प्राध्यापक, शिक्षक, स्वास्थ्यकर्मी, ट्रेड युनियन महासङ्घ, इन्जिनियरिङ एसोसिएसन, कानुन व्यवसायी सङ्गठनका केन्द्र, प्रदेश, जिल्ला तथा प्रतिष्ठानका पदाधिकारी एवं सदस्यहरू समावेश गरिएको थियो ।
सो अवसरमा पार्टीका नेता नन्द किशोर पुन, देवप्रसाद गुरुङ सहभागी थिए ।









