समानुपातिक सांसदको टुङ्गो लगाउन कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फका समानुपातिक सांसदहरूको नाम छनोट गर्न आज केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । ललितपुरको बीपी नगरस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकले निर्वाचन आयोगमा बुझाउनुपर्ने सांसदहरूको अन्तिम नामावली तय गर्नेछ ।
बैठकको मुख्य एजेन्डा समानुपातिक उम्मेदवारहरूको चयन रहेको छ । गत फागुन २१ गते सम्पन्न निर्वाचनमा प्राप्त मतका आधारमा कांग्रेसले समानुपातिकतर्फ २० सिट सुरक्षित गरेको छ । निर्वाचन आयोगमा यसअघि नै बुझाइएको बन्दसूचीमा रहेका नामहरूमध्येबाट क्लस्टर र प्राथमिकताका आधारमा २० जनाको नाम छनोट गरी आयोगमा पठाउने तयारी पार्टीले गरेको हो ।
बैठकमा पार्टीका शीर्ष पदाधिकारी तथा केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरूलाई अनिवार्य उपस्थित हुन सूचित गरिएको छ । प्रत्यक्षतर्फ १८ सिट जितेको कांग्रेसले समानुपातिकका २० सिट थपिएपछि प्रतिनिधि सभामा आफ्नो कुल सांसद संख्या ३८ पुर्याउनेछ ।
समानुपातिक सूचीमा नाम समावेश गर्दा समावेशिताको सिद्धान्त र पार्टीको योगदानलाई कसरी सन्तुलन मिलाउने भन्ने विषयमा आजको बैठकमा सघन छलफल हुने बुझिएको छ । निर्वाचन आयोगले तोकेको समयसीमाभित्रै नामावली बुझाउनुपर्ने भएकाले आजको बैठकबाटै नामहरू फाइनल गरिने पार्टी स्रोतले जनाएको छ ।








