मोदी प्रमुख अतिथि रहने सम्मेलनमा रेनु दाहाललाई निम्तो

काठमाडौं । भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाललाई भारतमा आयोजना हुने प्रतिष्ठित NXT Summit २०२६ मा सम्मानित वक्ताका रूपमा आमन्त्रण गरिएको छ । भारतीय संसद्को राज्य सभाका सांसद कार्तिकेय शर्माले दाहाललाई औपचारिक निमन्त्रणापत्र पठाउँदै निमन्त्रणा गरेका हुन् ।

सम्मेलन मार्च १२, १३ र १४ मा नयाँ दिल्लीस्थित भारत मण्डपममा आयोजना हुँदैछ । यो सम्मेलनलाई भारतमा वार्षिक क्यालेन्डर इभेन्टको रूपमा विकास गर्ने उद्देश्य राखिएको छ । यसले नीति, शिक्षा, व्यवसाय, राजनीति, विज्ञान तथा प्रविधिका क्षेत्रका विश्वस्तरीय विचारकहरूलाई एकै ठाउँमा ल्याउने लक्ष्य लिएको आयोजकहरूले बताएका छन् ।

आयोजकका अनुसार सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् भने अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री स्कट मोरिसन सम्मानित अतिथिका रूपमा रहनेछन् । अन्य प्रमुख वक्ताहरूमा रेल, इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्री अश्विनी वैष्णव, प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री डा. जितेन्द्र सिंह लगायतका व्यक्तित्वहरू सहभागी हुनेछन् ।

सम्मेलनमा ३० भन्दा बढी देशका सांसदहरू; हार्वर्ड, MIT, बर्कली, अक्सफोर्ड, क्याम्ब्रिज, LSE, स्ट्यानफोर्ड लगायत विश्वका २५ उत्कृष्ट विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थीहरू; विभिन्न देशका उपकुलपति तथा विशेषज्ञहरू सहभागी हुने अपेक्षा गरिएको छ । यसैगरी NXT in Science कार्यक्रम प्रसिद्ध भौतिकशास्त्री डा. ब्रायन ग्रिन (कोलम्बिया विश्वविद्यालय) सँगको सहकार्यमा आयोजना हुने बताइएको छ ।

निमन्त्रणापत्रमा रेनु दाहालजस्ता नेताहरूको उपस्थितिले सम्मेलनलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ । साथै, यस फोरमलाई आगामी वर्षहरूमा कसरी अझ प्रभावकारी बनाउने भन्ने विषयमा उनको सुझावसमेत मागिएको छ । रेनु दाहाल भरतपुर महानगरपालिकाको दुई कार्यकाल मेयर रहिसकेकी छन् र हाल सक्रिय राजनीतिमा छिन् । उनको यो निमन्त्रणालाई नेपालबाट अन्तर्राष्ट्रिय स्तरमा प्राप्त मान्यताका रूपमा पनि हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 3 =