नयाँ दलको ‘वेभ’सँग भिड्दै गगन-विश्व, के जोगिएला पुरानो साख ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन आउन जम्मा पाँच दिन बाँकी रहँदा मुलुकको चुनावी माहोल ह्वात्तै तातेको छ । यसपटकको चुनाव विगतका नियमित शृंखला जस्तो मात्र नभएर ‘जेनजी’ आन्दोलनले ल्याएको राजनीतिक उथलपुथलका कारण राष्ट्रिय र अन्तर्राष्ट्रिय चासोको केन्द्र बनेको छ । चुनावको मुख्य भाष्य नै यतिबेला ‘नयाँ भर्सेस पुरानो’ बनेको छ । एकातिर जेनजी आन्दोलनको रापतापमा उदाएका नयाँ दलहरूको देशव्यापी ‘वेभ’ छ भने अर्कोतिर त्यही वेभलाई चिर्दै पुरानो शाख जोगाउन नेपाली कांग्रेसको नयाँ नेतृत्व अर्थात् गगन थापा र विश्वप्रकाश शर्माको जोडबल छ ।

पुस अन्तिम साता सम्पन्न विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको नेतृत्व पुस्तान्तरण भयो । तत्कालीन संस्थापन पक्ष (शेरबहादुर देउवा समूह) को असहमतिका बाबजुद गगन थापा सभापति र विश्वप्रकाश शर्मा उपसभापतिमा निर्वाचित भए । तर, कांग्रेसको यो नयाँ नेतृत्व अहिले दोहोरो चेपुवामा छ । एकातिर देशव्यापी रूपमा नयाँ दलहरूको अनपेक्षित उभार छ भने अर्कोतिर पार्टीभित्रै निवर्तमान संस्थापन पक्षको असहयोग छ । चुनावको मुखमा प्रचारप्रसारमा खटिनुको सट्टा देउवा पक्ष कानुनी लडाइँ र निष्क्रियतामा रुमल्लिएको छ । यस्तो प्रतिकूलताका बीच पनि गगन-विश्वको जोडी पार्टीलाई पुनर्जीवन दिन, निष्क्रिय कार्यकर्तालाई ब्युँझाउन र अन्य दलमा गएकाहरूलाई फर्काउन देशदौडाहामा होमिएको छ । जनकपुरदेखि बाँके, सुर्खेत, बुटवल, पोखरा हुँदै बागलुङसम्मका आमसभामा देखिएको जनसागरले उनीहरूको प्रयासलाई सार्थक तस्बिर दिइरहेको छ ।

चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), उज्यालो नेपाल पार्टी र श्रम संस्कृति पार्टीजस्ता नयाँ दलहरूप्रति युवा पुस्ताको ठूलो आकर्षण छ । विशेषगरी रास्वपाका सभापति रवि लामिछाने र भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन साहका कार्यक्रममा देखिने भिडले पुराना दलहरूलाई रक्षात्मक बनाएको छ । पुराना दलप्रतिको वितृष्णालाई नै रास्वपाले आफ्नो मुख्य हतियार बनाएको छ ।

यही उभारसँग भिड्दै कांग्रेस सभापति थापाले मतदातालाई ‘नयाँको भ्रममा नफस्न’ अपिल गरेका छन् । शुक्रबार बुटवलको सभामा उनले २०६४ सालमा माओवादीलाई नयाँ शक्तिका रूपमा जिताउँदा देशको पाँच वर्ष खेर गएको र संविधानसमेत बन्न नसकेको दृष्टान्त पेस गरे । ‘नयाँको नारामा फस्दा देशले फेरि दुःख पाउँछ,’ उनले भने ।

सभापति थापाले आफूलाई बदनाम गर्न नयाँ र पुराना दल मिलेर ‘फ्याक्ट्री’ नै खोलेको आरोप लगाए । आफ्ना पुराना भिडियोलाई काँटछाँट गरी जनजातिको अपमान गरेको भन्दै अफवाह फैलाइएको उनको दाबी छ । रास्वपा नेता बालेन साहको विकास नगर्नेलाई रूखमा बाँध्नुपर्छ भन्ने अभिव्यक्तितर्फ लक्षित गर्दै उनले भने, ‘सडक बनेन भनेर कसैलाई रूखमा झुण्ड्याउँछु भन्दैमा देश बन्दैन, समस्याको वास्तविक पहिचान गर्नुपर्छ । एक व्यक्ति रातारात देउता वा राक्षस हुन सक्दैन, देश बनाउन टिम चाहिन्छ जुन कांग्रेससँग मात्र छ ।’

उपसभापति विश्वप्रकाश शर्माले पनि पोखराको सभाबाट माओवादीलाई जिताएर गल्ती गरेजस्तो अहिले नयाँलाई ठूलो बनाएर फेरि गल्ती नगर्न नागरिकलाई सचेत गराए । नयाँ दलहरूले मुलुक सम्हाल्न नसक्ने जिकिर गर्दै उनले देश जोगाउन कांग्रेसकै कमाण्ड आवश्यक रहेको दाबी गरेका छन् । कांग्रेस उपसभापति शर्माले चुनावपछिको सरकारको नेतृत्व र एजेण्डाका विषयमा नयाँ बहसको सुरुवातसमेत गरेका छन् । उनले फागुन १८ गते होलीको अवसर पारेर खुलामञ्चमा प्रधानमन्त्रीका उम्मेदवारहरूबीच सार्वजनिक बहसको प्रस्ताव राखेका छन् । ‘सँगै होली खेलौँ र एजेण्डामा खुला बहस गरौँ, के अरू दल राजी छन् ?’ भन्दै उनले नयाँ दलहरूलाई चुनौती दिएका छन् ।

उता, नयाँ दलप्रतिको ‘वेभ’लाई भोटमा बदल्न रास्वपा पनि आक्रामक रूपमा प्रस्तुत भएको छ । शुक्रबार चितवनको सभामा रास्वपा सभापति रवि लामिछानेले आफूलाई अन्तिम इच्छा सोध्नेहरूलाई फागुन २१ गते मतमार्फत जवाफ दिन मतदातालाई आग्रह गरे । सुशासनको मानक बनाउन यसपटक पुराना दललाई एक सिट पनि नदिई इतिहासको कदरस्वरूप पाँच वर्ष सडकमा (प्रतिपक्षमा) राख्नुपर्ने उनको तर्क छ ।

त्यसैगरी, रास्वपाका भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन साहले देशको अवस्थालाई हेटौँडा सिमेन्ट कारखानासँग तुलना गर्दै स्रोत र साधन हुँदाहुँदै पनि देश अघि बढ्न नसकेको बताए । कांग्रेस नेता विनोद चौधरीको वाईवाई चाउचाउको प्रसंग निकाल्दै उनले भने, ‘अब हामीले देशलाई कांग्रेसको वाईवाई कारखाना जस्तै बनाउनुपर्‍यो, ताकि हाम्रा उत्पादन वाईवाई जस्तै संसारभर लैजान सकियोस् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + ten =