खच्चडको स्याहार छ, भुइँमान्छेको खोइ ? (तस्बिरहरू)

काठमाडौँ । भक्तपुर, दुवाकोटस्थित इट्टाभट्टामा बिहान करिब ८ बजेदेखि नै टाङटाङ–टिङटिङ घण्टीका मधुर आवाजहरू गुन्जिन थाल्छन् । ती घण्टीहरू कुनै मन्दिरका होइनन्, खच्चडका घाँटीमा बाँधिएका साना घण्टीका हुन् ।
त्यत्तिकैमा हावासँगै मिसिएर सुनिन्छ— ‘हट’, ‘हट’ । खच्चड डोर्याउने खच्चडियाहरूको आवाज ।
उक्त भट्टामा बाँकेका ६५ वर्षीय रमजान पठानका १२ वटा घोडा र २७ वटा खच्चड छन् । वर्षौँदेखि यही पेसामा रमाइरहेका उनले आफ्ना खच्चडहरूलाई मायालु नाम दिएका छन्— राजा बेटे, कल्लु, अडियाल, रानी र काजल । नाम जस्तै उनीहरू पनि उनको परिवारका सदस्यझैँ हुन् ।
प्रत्येक खच्चडसँग एक वा दुई जना खच्चडिया हुन्छन् । उनीहरू खलामा चाङ लगाएर राखिएका काँचो इट्टाहरू खच्चडको पिठ्युँमा सावधानीपूर्वक बोकाउँछन् । त्यसपछि खच्चडहरूलाई अघि बढाउँदै चिम्नी तर्फ पुर्याउँछन् र त्यहाँ भारी बिसाउँछन् ।
दिनभरि यही क्रम दोहोरिन्छ— घण्टीको ताल, ‘हट’, ‘हट’ को आवाज, र धुलाम्मे वातावरणबीच मजदुरहरूको श्रम ।
रमजान पठान आफ्ना खच्चडलाई श्रम गराए पनि उनीहरूको पालनपोषणमा कुनै कमी हुन नदिएको स्पष्ट पार्छन् ।
उनी भन्छन् ‘यिनीहरूले शनिवार रेस्ट गर्छ । चना, काजु, भुस, सख्खर खान्छ । यो सबै मिसाएर खुवाउँछौँ ।’
उनले इट्टाभट्टा नजिकै खच्चडका लागि भनेर रु ३ हजारमा हरियो गहुँ बारी खरिद गरेका छन् । खच्चडलाई अन्य खानेकुराहरूसँगै हरियो गहुँ खान दिँदा बलियो हुने उनको बुझाई छ ।
उनले यस काममा जति खट्न सक्यो उति नै कमाई हुने जानकारी दिए ।
उनले भने ‘काम जति भयो, कमाई पनि त्यति नै हुन्छ । कुनै दिन १–२ हजार हुन्छ भने कुनै दिन ५ हजार हुन्छ ।’
त्यसैगरी ‘खच्चड पालन’ नेपालगन्जका ५२ वर्षीय मुराद अलिको पनि पर्खौली व्यवसाय हो । उनले करिब १५–१६ वर्षदेखि इट्टा भट्टामा खच्चडलाई काँचो इट्टा बोकाउने काम गर्दै आएका छन् ।
उनले यस बाहेक आफूलाई अरू कारोबार गर्न नआउने बताए ।
उनले भने ‘यो हाम्रो पुर्खौली पेसा हो । यही कारोबार हो, अरू आउदैँन् ।’
उनका अनुसार ‘पी’ भट्टामा आएको उनीहरू पहिलो चोटि हो । उनका समूहमा ११ वटा खच्चड र २२ जना खच्चडियाहरू रहेका छन् । उनले खच्चडलाई एक हजार इट्टा बोकाए बापत आफूहरूले ५ सय रुपैयाँ कमाउने बताए ।
सिजन सकिए पछि भने खच्चडलाई नेपालगन्जकै सिमेन्टको दोकानमा भारी बोकाउने उनले सुनाए ।
इट्टा बोक्ने हात, दाल–चामलमै अल्झिएको जीवन
नेपालगन्जबाट मजदुरीका लागि आएका युवा कामदारहरू मध्य कतिपयलाई नेपाली भाषा बोल्न आउँदैन र बुझ्दैनन् पनि । उनीहरू त्यहाँ नाइकेको सहायतामा काम गर्छन् ।
बाँके ८ का ६५ वर्षीय रमजान पठान (नाइके) लाई पनि आउँदो फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको बारेमा खास्सै ज्ञान छैन ।
‘तपाईहरू चुनावसँग नजिक हुनुहुन्न रु’ भन्ने प्रश्नमा उनी जवाफ दिन्छन् ‘ के फाइदा हामीलाई । पहिले १० रुपैयाँमा बिक्ने चिज चुनाव पछि पनि १० रुपैयाँमा नै बिक्ने हो । त्यसबाट त ठुलो ठुलो नेताहरूको पेट भर्ने हो । हामीले त काम गरेपछि मात्रै पेट भर्छ ।’
उनले सरकारलाई खच्चड पालनको लागि आर्थिक सहयोग गर्न र मजदुरहरूका लागि दाल, चामल जस्ता रासन सहयोग गर्न माग गरेका छन् ।
मजदुरहरूले खच्चडहरूको खानपान र बसोबासको राम्रो ख्याल राखेका छन् । तर राज्यले भने यी भुइँमान्छेहरूको जीवनतर्फ उस्तै चासो दिन सकेको देखिँदैन ।
शिक्षा, स्वास्थ्य र अधिकार त अझै टाढाका कुरा— उनीहरू त आज पनि दाल–चामलको जोहोमै अल्झिएका छन् ।
जसरी खच्चडको स्याहार–सुसार हुन्छ, त्यसरी नै मजदुरहरूको जीवन सुरक्षित र सम्मानित बनाउने जिम्मेवारी पनि राज्यकै हो ।
हेर्नुहोस् तस्बिरहरू:











