सेतोपाटीलाई कारबाही गर्न निर्वाचन आयोगले प्रेस काउन्सिललाई गर्‍यो पत्राचार

काठमाडौँ । निर्वाचन आयोगले सेतोपाटी अनलाइनविरुद्ध कारबाही गर्न माग गर्दै प्रेस काउन्सिल नेपाललाई पत्राचार गरेको छ ।

आयोगले सेतोपाटीमा प्रकाशित दुई समाचारले निर्वाचन आचारसंहिता उल्लंघन गरेको ठहर गर्दै सोमबार काउन्सिललाई आवश्यक कारबाहीका लागि अनुरोध गरेको हो ।

आइतबार ‘सेतोपाटी चुनाव विश्लेषण–१’ शृंखलाअन्तर्गत ‘चितवन–३ मा सोविता गौतमले जित्नेछिन् निर्वाचन, रेनु दाहाल दोस्रो’ शीर्षकमा समाचार प्रकाशित भएको थियो । त्यसैगरी सोमबार ‘भोट रास्वपालाई दिने हो, तर निकुञ्ज छेउका बस्तीबारे बालेनको तर्क गलत छ’ शीर्षकमा अर्को सामग्री सार्वजनिक गरिएको थियो ।

आयोगले ती सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगका अनुसार उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म मत सर्वेक्षण गर्न, परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नहुने व्यवस्था रहेको छ । साथै, कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने प्रावधानसमेत उल्लंघन भएको आयोगको ठहर छ ।

आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (त) र दफा २५ को उपदफा (१) को खण्ड (ख) विपरीत सामग्री प्रकाशन भएको भन्दै आयोगले काउन्सिललाई निर्णयानुसार कारबाही प्रक्रिया अघि बढाउन आग्रह गरेको छ ।

कानुन अधिकृत मोहनराज जोशीद्वारा हस्ताक्षरित पत्रमा सेतोपाटीबाट गरिएको कार्य निर्वाचन आचारसंहिताविपरीत देखिएको उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + nine =