‘लफङ्गा’ पाराले संविधान संशोधन हुन सक्दैन: गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखिएको भन्दै ‘लफङ्गा’ पाराले संविधान संशोधन हुन नसक्ने टिप्पणी गरेका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले सरकारले संविधान संशोधनको नाममा संविधान निर्माणको क्रममा राखिएका सूक्ष्म पक्षलाई हलुका रूपमा लिइरहेको टिप्पणी गरे । उनले संविधान संशोधन र पुनरावलोकन आवश्यक भएपनि हतार, हचुवा र गैरजिम्मेवार शैलीमा अघि नबढाउन सरकारलाई चेतावनी समेत दिए । उनले संविधान संशोधनमार्फत राज्यका संस्थालाई बलियो बनाउनुपर्नेमा जोड दिए ।

उनले भने ‘संविधान र यो व्यवस्थाको सन्दर्भमा यो सरकारको निष्ठामा कमी । हामीले संविधान बनाउँदै गर्दाका सूक्ष्म (न्युअन्स) पक्षहरूलाई सरकार सञ्चालन गर्ने साथीहरूले पटक्कै पनि ख्याल गरिरहनुभएको छैन । त्यसमा ध्यान दिइरहनुभएको छैन । हामीले त हाम्रा संस्थाहरूलाई बलियो बनाउने हो नि त । संविधान संशोधन र पुनरावलोकन एकदमै गर्नुपर्नेछ । तर यस्तो हचुवा पाराले होइन । यहाँ त एकैछिनमा आगो बल्छ । अधिकारको विषय त्यतिबेलासम्म मात्र गौण हुन्छ जतिबेलासम्म अधिकार प्राप्त भइरहेको हुन्छ । तर यदि अधिकारको विषय चलाइयो भने त्यसपछि सबैभन्दा महत्त्वपूर्ण कुरा त्यही बन्छ । भाषा, समावेशिता र विविधतालाई सम्बोधन गर्ने विषय सबैभन्दा महत्त्वपूर्ण विषय बन्छ । तर यी विषयहरूमा हल्का पाराले, अझ म त भन्छु ‘लफङ्गा’ पाराले जे मन लाग्यो त्यही बोलिदिएको छ, जे मन लाग्यो त्यही गरिदिएको छ । यो गम्भीर चिन्ताको विषय हो ।’

संविधानमा भएका भाषा, जाति र विविधताको विषयमा छेडखानी भए मुलुकमा द्वन्द्वको आगो फैलिनेतर्फ सरकार सचेत हुनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − twelve =