जेनजी शहीदको सम्झनामा क्षमायाचना पूजा

काठमाडौं । जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा क्षमायाचना पूजा गरिएको छ । मंगलबार नयाँ बानेश्वर संसद् भवन अगाडि क्षमायाचना पूजासहित होम, धूप-धुवाँ र आत्मशान्ति सत्याग्रह पुण्य कार्यक्रम गरिएको हो ।
जेनजी सुशासन योद्धा परिवारले उक्त कार्यक्रम आयोजना गरेको हो । भदौ २३ गते भ्रष्टाचारको विरुद्धमा आन्दोलन गर्दा संसद् भवन अगाडि प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए ।
भदौ २३ गते संसद् भवन अगाडि युवाहरूमाथि गोली प्रहार भएपछि भदौ २४ गते संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत लगायत देशभरका सार्वजनिक तथा निजी भवनमाथि आगजनी भएको थियो । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ७६ जनाको मृत्यु भएको थियो । मृत्यु भएकामध्ये ४५ जनालाई सरकारले शहीद घोषणा गरेको छ ।
सुशासनको मुख्य माग राखेर युवाहरूले आन्दोलन गरे पनि आन्दोलनपछि गठित सरकारले उनीहरूको माग सम्बोधन गर्न ठोस कदम भने चाल्न सकेको छैन ।










