कलकारिताको संघर्षपूर्ण यात्रा

साउदी अरबको मजदुरीदेखि चलचित्रको फ्रेमसम्म

‘हात्तिछाप चप्पलले कोटेश्वरमा पहिलो पाइला टेकेकोसँगै, कलाकारिताको यात्रामा पनि उनले आफ्नो पहिलो पाइला चाले’

काठमाडौँ । त्यसबेला सिन्धुपाल्चोकको लिसाङखुपाखर-७ मा दुई-तीन घरमा मात्रै टेलिभिजन हुन्थ्यो । शनिबार हिन्दी फिल्म हेर्न दर्शकको भिड लाग्थ्यो । घरधनीले आफन्त र चिने जानेकालाई मात्र भित्र पस्न दिन्थे । अरूले भने बाहिर बसेर झ्यालको सानो प्वालबाट लुकेर फिल्म हेर्थे- ती नै मध्ये एक थिए योगी रुपेश लामा ।

उनी कहिले फिल्म हेर्नै नपाई त्यसै फर्किन्थे त कहिले आवाज मात्रै सुनेर रमाउँथे । यसरी आधा-अधूरो देखिएको फिल्म पनि उनको मनमा लामो समयसम्म बसिरहन्थ्यो ।

किसान मजदुर परिवारमा जन्मेका उनलाई परिवारले कहिल्यै करियरको बोझ थोपरेनन् । सानैदेखि पढाइमा लास्ट वा सेकेन्ड लास्ट हुने रुपेशलाई आफू कुनै कुरामा राम्रो छु जस्तो लागेन ।

विद्यालयमा हुँदा साथीहरू भविष्यको योजना बनाउँथे । कोही डाक्टर, कोही इन्जिनियर, त कोही पाइलट । तर ‘आफू के हुने ?’ भनेर उनी सधैँ अन्योलमा रहन्थे ।

कक्षा ८ को कुरा । विद्यालयमा ‘ प्यारेन्ट्स डे’ को चहलपहल थियो । त्यहाँ हुने थुप्रै सांस्कृतिक कार्यक्रमहरू मध्य रुपेश नाटकमा जोडिए । शिक्षिकाले उनलाई मुख्य भूमिकामा अभिनय गर्ने मौका दिनुभयो । आफूलाई कुनै कुरामा फिट नदेखेका उनले पहिलो पटक आफू अभिनयमा राम्रो भएको पाए ।

त्यसपछि उनी गाउँभरि नाटकको पात्रले चिनिने थाले ।

बिस्तारै अभिनयतर्फ उनको लगाव बढ्दै गयो । कार्यक्रममा गीतहरू बज्दा उनलाई नाच्न मन लाग्थ्यो । गाउँघरमा फिल्मको सुटिङ हुँदा उनी दिनभरि त्यहीँ पुगेर सुटिङ हेर्थे । फिल्मका किरा बनेका योगी रुपेशलाई सुटिङ हेरेपछि त्यस्तै त्यस्तै नक्कल गर्न मन लाग्थ्यो ।

बिस्तारै कला नै आफ्नो साँचो गन्तव्य हो भनेर उनले बुझे । यो बुझ्न उनलाई बर्सौँ लाग्यो ।

एसएलसी सकिएपछि आफ्ना सपनाहरू पछ्याउँदै उनी काठमाडौँ आइपुगे ।

त्यसदिन, हात्तिछाप चप्पलले कोटेश्वरमा पहिलो पाइला टेकेकोसँगै, कलाकारिताको यात्रामा पनि उनले आफ्नो पहिलो पाइला चाले ।

यहाँ आएर उनी दिदीसँगै बागबजारमा बसे । उनले पढाइसँगै कन्स्ट्रक्सनमा सुपरभाइजरको रूपमा काम गरे, आफ्नै दिदीको रेस्टुरेन्टसँगै अन्य कामहरू पनि गरे ।

दिनभरि काममा व्यस्त भए पनि उनको मनमा सधैँ ‘कलाकार बन्न पाए हुन्थ्यो’ भन्ने थियो ।

बागबजारको साँघुरो गल्ली हिँड्दै गर्दा एक दिन माथिल्लो तल्लामा रहेको डान्स स्टुडियो उनले देखे । जसबाट फिल्मी गीतहरू बजिरहेका हुन्थे । ‘यदि त्यहाँ जोडिन पाए त कलाकार बन्न सकिन्थ्यो कि’ भन्ने उनलाई लाग्दथ्यो । तर पैसा नहुँदा उनी चुपचाप अघि बढ्थे ।

सन् २०१७ मा उनको जीवनले नयाँ मोड लियो । प्लस टु पछि करियर बनाउनु पर्ने दबाब थियो । आफ्नो सपनाको हरेक पाइलामा पैसाको अभाव खड्कीए पछि उनले आर्थिक रुपमा सबल भएर मात्रै कलाकारिता थाल्ने अठोट गरे । त्यसपछि साउदी अरब गए उनी ।

२ वर्ष त्यहाँ बसे पछि बिस्तारै उनलाई गलत ठाउँमा आइपुगेको महसुस हुन थाल्यो । त्यहाँको ४३-५२ डिग्री तापक्रमले भन्दा कलाकार बन्ने सपनाले उनलाई बढी पोल्थ्यो । आमिर खानको ‘तारे जमीन पर’ भन्ने फिल्म जस्तै जीवनमा सही शिक्षकको अभाव महसुस गरेका उनले एक दिन कलाकार सुनिल थापाको अन्तरवार्ता हेरे ।

एभरेष्ट फिल्म एकेडेमीबारे रहेको त्यस अन्तरवार्ताबाट उनले कलाकार बन्ने ‘क्लु’ भेटाए । त्यसअघि ‘फिल्म’ पढ्ने विषय हो भनेर पत्तो समेत नपाएका योगी रुपेशका लागि त्यो एकदमै खुसीको खबर थियो । त्यसपछि काठमाडौँ आएर उनले सन् २०१९ मा एभरेष्ट फिल्म एकेडेमीमा भर्ना लिए ।

अभिनयमा डिप्लोमा गर्न १ वर्षको लाग्थ्यो । फाइनल प्रोजेक्ट बुझाउँदा १४ महिना जति लाग्ने कुरा थियो तर प्रोजेक्ट नबुझाउँदै कोभिड-१९ ले कलेजमा अभिनय बाहेक सबै सङ्काय ठप्प बनाए ।

त्यस बेलासम्म घरमा कसैलाई थाहा थिएन । एक दिन लामो समयको मौनता तोडेर उनले परिवारलाई सबै कुरा भने तर अपेक्षित साथ नपाउँदा उनको अभिनय यात्रा झनै कठिन बन्दै गयो । परिवारले उनलाई कलाकारिता सुरक्षित मार्ग होइन भनेर धेरै सम्झाए । तर आत्मा भित्र गढेर बसेको अभिनयलाई उनले ‘ब्रेक’ लगाउन सकेनन् ।

‘आफूले आफूलाई जित्न लामो समय लाग्यो । परिवारलाई करिब ३/४ वर्ष पछि भने । इन्डस्ट्रिमा फेरि अलग स्ट्रगल रहेछ ।’ उनले भने ।

कोभिड-१९ मा उनी कलेजमै बसेर ‘अभिनय’ पढे । त्यसबीच उनले डान्स, भोकल र मार्सल आर्ट पनि सिके । कोभिडले गर्दा १ वर्षको कोर्सलाई उनले ३ वर्षसम्म अध्ययन गर्ने मौका पाए ।

त्यसपछि उनले थुप्रै फिल्मका लागि अडिसनहरू दिए । काठमाडौँका गल्लीहरूमा अडिसन दिँदा दिँदै उनले थुप्रै जोर जुत्ता-चप्पलहरू फटाए । अघिल्लो एक महिना अडिसन दिँदा भेटिएका साथीहरू फेरि अर्को अडिसनमा पनि भेटिन्थे । प्राय अडिसनमा चिनेका साथीहरू नै ठोक्की रहन्थे । यसरी अडिसनमा गएरै उनले थुप्रै साथीहरू बनाए ।

पछि साथी-साथी मार्फत नै अडिसन थाहा हुन्थ्यो । कहिलेकाहीँ एजेन्सीहरूबाट कल आउँथ्यो । त्यसरी चिनजानबाट ३-४ विज्ञापन र १-२ म्युजिक भिडिओमा उनले काम गरे । यसबीच आफ्नै धैर्यताको समेत अडिसन दिइरहेका उनले थिए ।

उनी भन्छन् ‘सुरुसुरुमा धेरै नै आर्थिक समस्या भयो । काम पनि हुँदैन एक त । काम आइहाले पनि कति नै दिने हो र ?, नयाँ कलाकारलाई खास्सै दिँदैनन् ।’

कलाकारिता गरिरहेको भनिए पनि कतै काम पाइँदैनथ्यो । अडिसनमा सेलेक्ट भएपनि कति फिल्महरू बन्दै बनेन थे । कतिको स्क्रिप्ट र कथाहरू चित्त नबुझ्दा उनले त्यसमा काम गरेनन् । काठमाडौँमा भाडा तिर्नुपर्यो । बस्नुपर्यो । खानुपर्यो । घरमा पैसा माग्ने आट थिएन । त्यसबीच करिब डेढ वर्ष उनी डिप्रेसनमा गए ।

उनको यस अवस्थाबारे घरमा कसैलाई नभनी सुटुक्क आफ्नो बजाज 2 20 बाइक बेचे । सोचे- ‘अडिसनको लागि पब्लिक बसमै जाउँला ।’

अन्ततः ध्यान, साधना र साथीभाइसँग भेटघाट गर्दै उनले डिप्रेसनलाई समेत जिते ।

उनी सुरुदेखि नै राम्रो फिल्ममा डेब्यु गर्ने पर्खाइमा थिए । चलचित्र ‘जनै हराएको बाहुन’ मा उनले सोचे जस्तै भयो । एक हिसाबले उनको सपना पुरा भयो ।

‘जनै हराएको चलचित्रका असोसिएट डाइरेक्टर मनिस राउत सरले मलाई स्क्रिप्ट दिनुभयो । स्क्रिप्ट चित्त बुझ्यो । अडिसन अगाडी नै मैले कपाल डेढलकहरू बनाएर लुकमा काम गर्न थालिसकेका थिए । त्यसपछि अडिसनमा मनिस सरले फाइनल गर्नुभयो ।’

यसरी पहिलोपटक पर्दामा आफूलाई देख्दा अत्यन्तै भावुक भएको उनी बताउँछन् । विगतको दिनहरूलाई सम्झिँदै गर्दा मन भारी भएको उनले सुनाए ।

‘लामो समय र यात्रा पछिको एक खुड्किलो चढ्दा, धेरै दर्शकहरूको अगाडी धेरै हलहरूमा आफ्नो फिल्म लाग्नु भनेको त सपना नै हो ।’ उनी भन्छन्  ‘आफ्नो अन्तर मनको गहिराइलाई सुनियो भने सफल पनि हुँदो रहेछ ।’

अहिले उनले अभिनय गरेको दोस्रो चलचित्र ‘कुमारी’ यही माघ २३ बाट देशभरका हलहरूमा प्रदर्शनको तयारीमा रहेको छ । पहिलो चलचित्रमा उनले आफ्नो अभिनयबाट दर्शक र मेकरहरूबाट खुबै प्रशंसा बटुलेका थिए । दोस्रो चलचित्रमा पनि दर्शकले उत्तिकै माया गर्ने कुरामा उनी विश्वस्त छन् ।

उनी चाहेर पनि अब कलाकारिता छाड्न नसक्ने बताउँछन् ।

भने अस्पतालमा बिरामी भएपनि त्यही पनि एक सिन गर्न पाए भन्ने लोभचाहिँ जहिले पनि हुनेछ । ’

बुढेसकालमा पनि अभिनय गरिरहन, क्यामेरामा कैद भइरहन र केही कथामा बाँधिन पाउ भन्ने आफ्नो चाहना रहिरहने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =