सांसदहरू भन्छन्- ‘सदाचार नीति तत्काल लागू गरौँ’

काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरूले सदाचार नीति नहुँदा देशमा भ्रष्टाचार र कुशासन गहिरिँदै गएको बताएका छन् ।

सभाको सोमवारको बैठकमा राष्ट्रिय सदाचार नीतिसम्बन्धी संसदीय समितिको अध्ययन प्रतिवेदनमाथिको छलफलमा सहभागी हुँदै सांसदहरूले यस्तो धारणा राखेका हुन् ।

सदाचार नीति तत्काल लागू गर्नुपर्नेमा उनीहरूको जोड छ । नेपाली काँग्रेसकी सांसद विष्णुकमारी सापकोटाले राष्ट्रिय सदाचार नीति, २०८२ को मस्यौदाको पृष्ठभूमिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास समेटिएको जानकारी दिँदै नेपालमा नीति कार्यान्वयन नहुँदा भ्रष्टाचार बढेको बताइन् ।

उनले संयुक्त राष्ट्र महासंघले सन् २००५ मै सदस्य राष्ट्रहरूलाई आठ बुँदासहित सदाचार नीति लागू गर्न निर्देशन दिएको भएपनि नेपालमा २० वर्षसम्म पनि कार्यान्वयन हुन नसकेको उल्लेख गरिन् । उनले राजनीतिक दल र कर्मचारी सबैले सदाचारिता देखाए मुलुक विकास र समृद्धिको यात्रामा लम्किने विश्वास समेत व्यक्त गरिन् ।

उनले भनिन् ‘राष्ट्रिय सदाचार नीति, २०८२ को मस्यौदाको पृष्ठभूमिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिचय दिन खोजिएको छ । यसैगरी विगतमा सदाचार नीति लागु गर्ने प्रयासहरूको बारेमा समेत अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । सदाचार नीति नहुँदा मुलुकमा भ्रष्टाचार मौलाएको छ । सन् २००५ मा संयुक्त राष्ट्र महासंघले महासभाबाट पक्षराष्ट्रहरुलाई आठ वटा बुँदासहित सदाचार नीति लागु गर्न निर्देशन गरेको रहेछ । तर नेपालमा सदाचार नीति लागु नहुँदा भ्रष्टाचार र कुशासन मौलाएको छ ।’

नेकपा (एमाले) की सांसद तुलसाकुमारी दाहालले नेपाली समाजमा आपसी विश्वास कमजोर हुँदै गएको र नैतिक मूल्य मान्यताहरू संकटमा परेको बताइन् । उनले संघ र केन्द्रमा सीमित भ्रष्टाचार अहिले प्रदेश र स्थानीय तहसम्म फैलिएको भन्दै सुशासन र कानुनको प्रभावकारी कार्यान्वयन हुन नसकेको धारणा राखिन् ।

उनले भनिन् ‘नेपाली समाजमा एकअर्काप्रति विश्वास हराउँदै गएको छ । नैतिकता, मानवता, असल संस्कार र हाम्रा मौलिक परम्पराहरू चुनौतीपूर्ण समस्याग्रस्त हुँदै गएका छन् । गलत प्रतिस्पर्धा, अमानवीय व्यवहार मौलाएको छ । मुलुकमा सुशासन र कानुनको सही कार्यान्वयन हुन सकेको छैन । निष्ठा, आत्मसम्मान जस्ता विषयहरू ओझेल परिरहेका छन् । भ्रष्टाचार झाँगिँदै गएको छ । हिजो संघ र केन्द्रमा रहेको भ्रष्टाचार आज फैलिएर प्रदेश र स्थानीय तहसम्म नै पुगेको छ । यसको अन्त्य गर्न सदाचार नीति आवश्यक छ ।’

नेकपा (एकीकृत समाजवादी) का सांसद डा वेदुराम भुसालले सदाचार नीति लागू नहुँदा मुलुकले अविश्वास र अमानवीयताको खडेरीमा परेको बताए । उनले आम नागरिकलाई खुसी र समृद्ध बनाउन सबै क्षेत्र, तह र वर्गमा सदाचारिताको आवश्यकता रहेको बताए ।

उनले भ्रष्टाचार अन्त्य गर्दै मुलुकमा सुशासन कायम गर्न सदाचार नीति अपरिहार्य आवश्यकता रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 13 =