राष्ट्रिय सभा निर्वाचन : बागमतीमा उत्साहजनक मतदान (तस्बिरहरू)

हेटौँडा । राष्ट्रिय सभा सदस्य चयनका लागि बागमती प्रदेशमा आइतबार बिहानैदेखि उत्साहजनक रूपमा मतदान भइरहेको छ । हेटौँडास्थित मतदान केन्द्रमा बिहान ९ बजेबाट सुरु भएको मतदान प्रक्रियामा मतदाताहरूको सक्रिय सहभागिता देखिएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदान सुरु भएको पहिलो एक घण्टाभित्रै कुल ३३८ मतदातामध्ये १४३ जनाले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन् । जसमा स्थानीय तहतर्फका १११ जना र प्रदेश सभातर्फका ३२ जना सदस्य रहेका छन् । मतदान दिउँसो ३ बजेसम्म जारी रहनेछ ।

बागमती प्रदेशका रिक्त २ सिट (महिला र अन्य क्लस्टर) का लागि ६ जना चुनावी मैदानमा छन् । एमाले-कांग्रेस गठबन्धनका तर्फबाट महिला क्लस्टरमा कांग्रेसकी गीता देवकोटा र अन्य क्लस्टरमा एमालेका डा. प्रेमप्रसाद दंगाल उम्मेदवार छन् । नेकपाबाट सरोजकुमारी झा र प्रेम सापकोटा (राजेन्द्र) तथा नेमकिपाका तर्फबाट २ जनाले प्रतिस्पर्धा गरिरहेका छन् ।

कुल ११० सदस्यीय प्रदेश सभामा ६ जनाले राजीनामा दिएका कारण १०४ जनाको मताधिकार कायम छ । त्यस्तै, २३८ स्थानीय तहका प्रमुख/उपप्रमुखमध्ये एक जना निलम्बन र ३ जनाको राजीनामाका कारण २३४ जनाले मतदान गर्दैछन् । बागमती प्रदेशको कुल मतभार ९ हजार ९५८ रहेको छ । जसमा प्रदेश सभा सदस्यको ५ हजार ५१२ र स्थानीय तहका प्रतिनिधिको ४ हजार ४४६ मतभार छ । तथ्यांक अनुसार कांग्रेस र एमालेको संयुक्त मतभार ६ हजार ३८७ पुग्ने भएकाले गठबन्धनको जित सुनिश्चित देखिन्छ ।

प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्न प्रदेश सभा र स्थानीय तहबाट राजीनामा दिएका कारण केही ठूला नामहरू मतदाता सूचीबाट हटेका छन् । बालेन्द्र शाह, रेनु दाहाल, अशोक व्यञ्जुसहितका जनप्रतिनिधि र कुन्दन काफ्ले, सुनिल केसी जस्ता प्रदेश सांसदहरूले यसपटक मतदान गर्न पाउने छैनन् ।

तस्बिरहरू :- 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + thirteen =