देश जलाउनेहरूबाट जोगाउनु छ: ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आगो लगाउनेहरूबाट देश जोगाउनु नै अहिलेको आवश्यकता भएको बताएका छन् ।
मङ्गलवार आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरिसकेपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले अहिले देशमा आगो लगाउनेहरू जागिरहेको बताए । उनले देश जलाउनेहरूले भ्रम फैल्याइरहेको र नयाँ पुस्ता त्यसको सिकार भइरहेको बताए ।
आगो लगाउने, लोकतन्त्र खाने, संविधान मिच्नेहरूबाट कार्यालय जलाउनेहरूबाट, व्यक्तिका घर जलाउनेहरूबाट, सरकारी कार्यालय जलाउनेबाट, नगरपालिका चलाउनेबाट देश बचाउनुपर्ने अहिलेको आवश्यकता भएको बताए ।
उनले भने ‘अहिले देशमा आगो लगाउनेहरू जागिराखेका छन्, अघि बढिराखेका छन् । यिनले भ्रम पारिरहेका छन् । नयाँ पिँढीमा अलिकति भ्रम छ । भीड देखियो भन्नुभयो । मैले त त्यस्तो देखेको छैन । केही मान्छे जम्मा भएका होलान् । अब यस्तो अवस्थामा आगो लगाउने, लोकतन्त्र खाने, संविधान मिच्नेहरूबाट कार्यालय जलाउनेहरूबाट, व्यक्तिका घर जलाउनेहरूबाट, सरकारी कार्यालय जलाउनेबाट, नगरपालिका चलाउनेबाट देश बचाउनुपर्नेछ । देश बचाउनका लागि अनुभवी र दृढ नेतृत्व चाहिन्छ ।’
अध्यक्ष ओलीले देश बचाउनका लागि अनुभवी र दृढ नेतृत्व आवश्यक रहेको बताए ।








