सरकारले सांसदहरूले उठाएका समसामयिक विषयको तत्काल सम्बोधन गरोस्: कमला पन्त

काठमाडौं । राष्ट्रिय सभामा प्रमुख प्रतिपक्ष दलकी नेता कमला पन्तले संसदमा सांसदहरूले उठाएका समसामयिक विषयबारे सरकारको जवाफ आवश्यक रहेको बताएकी छन् ।

बुधवार बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै उनले सांसदहरूले उठाएका विषय अहिलेसम्म सम्बोधन नभएको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरिन् ।

‘यो संसदमा माननीयज्यूहरूले धेरै समसामयिक विषयहरूमा आवाज उठाउनु हुन्छ । अहिलेसम्म सरकारले कुनै पनि विषयमा रेस्पोन्स गरेको मैले थाहा पाइनँ,’ उनले भनिन् ।

उनले संसदका समसामयिक विषय के–के उठिरहेका छन् भन्नेबारे सरकारले जानकारी दिनुपर्ने र अहिलेसम्म कुनै पनि विषयमा जवाफ नआएको उल्लेख गरिन् ।

‘शून्य समयमा माननीयज्यूहरूले के–के विषयमा ध्यानाकर्षण गराइराख्नुभएको छ भन्ने सम्बन्धमा अहिलेसम्म जानकारी दिनका लागि यति लामो समय भइसक्यो संसद सुरु भएको,’ उनले भनिन्, ‘अहिलेसम्म कुनै पनि विषयमा सरकारले सम्बोधन गरेको, रेस्पोन्स गरेको मैले थाहा पाइनँ ।’

पन्तले सरकारले संसदमा उठेका विषयलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुको विकल्प नभएको बताइन् ।

उनले सभामुख नारायणप्रसाद दाहालले पनि विषयगत रुलिङ नगरेको भन्दै आलोचना गर्दै भनिन्, ‘सम्माननीयज्यूको इच्छा नभएर होइन होला जस्तो लाग्छ मलाई । समसामयिक विषयहरू के–के उठिरहेका छन् भन्ने सम्बन्धमा रुलिङ भएको पनि सुनिनँ ।’

सरकारले संसदमा उठेका विषयको तत्काल र प्रभावकारी जवाफ दिनुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + seven =