मनसुनजन्य विपद् : सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च शतर्कतामा

काठमाडाैं । देशभर मनसुनी प्रणाली सक्रिय बनेसँगै बुधवार र बिहीवार देशभरको मौसम थप प्रतिकूल रहने अनुमान गरिएको छ ।
बंगालको खाडी क्षेत्रमा विकसित न्युनचापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह बढिरहेको कारण मनसुनी गतिविधि थप सशक्त बनेको र वर्षाको मात्रा बढ्ने अवस्था सिर्जना भएको मौसमविद्हरूले बताएका छन् ।
मनसुनजन्य विपद्को सम्भावित घटनाको जोखिम कम गर्न तथा प्रतिकार्यको लागि सरकारका संयन्त्रहरु सक्रियताका साथ काम गरिरहेका छन् । सशस्त्र प्रहरी बल (एपीएफ) नेपालले विपद्को समयमा तत्काल उद्धार टोली पुग्न समस्या हुने अति संवेदनशील र जोखिमयुक्त स्थानहरूको पहिचान गरी देशका ५४ स्थानमा ‘अस्थायी मनसुन प्रतिकार्य वेस’ स्थापना गरेको सशस्त्र प्रहरी बल (एपीएफ) नेपालका प्रवक्ता नेत्रबहादुर कार्कीले बताए ।
उनकाअनुसार वर्षाजन्य विपद् हुने १६ वटा अति जोखिमयुक्त स्थानहरूमा जनशक्ति र स्रोतसाधनसहितका विपद् व्यवस्थापनका लागि स्थायी वेसहरू स्थापना गरिएको बताए ।
साथै, विपद्पछिको उद्धार तथा राहतका लागि गोताखोरसहितको टोलीलाई आवश्यक उपकरणसहित देशभरका जोखिमयुक्त स्थानमा खटाइएको कार्कीले बताए । विपद् प्रतिकार्य एवं व्यवस्थापनका लागि तीन वटै तहका सरकार एवं राज्यका सबै संयन्त्रहरूबीच प्रभावकारी रुपमा सहकार्य भइरहेकोसमेत बताए ।
उनले भने, ‘मनसुनजन्य विपद् व्यवस्थापनको लागि सशस्त्र प्रहरी बल नेपाल सधैं तयारी अवस्थामै रहन्छ । यस वर्षको मनसुनलाई लक्षित गरेर हामीले देशका विभिन्न ५४ वटा स्थानमा मनसुन प्रतिकार्य बेसहरू स्थापना गरेका छौँ । स्थायी प्रकृतिका विपद् व्यवस्थापनका लागि १६ पहिलेदेखि नै तयारी अवस्थामा छन् । विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनका लागि हामीले विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणसँग समेत समन्वय भइरहेको छ ।’

विपद् व्यवस्थापनको लागि प्रविधिमा आधारित सूचना प्रणाली
विपद्सम्बन्धी सूचना प्राप्त गर्ने उद्देश्यले सशस्त्र प्रहरीले ‘एपीएफ कम्युनिटी अलर्ट सिस्टम’ मोबाइल एप सञ्चालनमा ल्याएको छ । यस प्रणालीमार्फत समुदायबाट प्राप्त सूचना बाहिनी तहको अपरेसनल रुममा तत्काल पुग्ने र उद्धार टोली परिचालन हुने व्यवस्था मिलाइएको सूचना अधिकारी कार्कीले बताए ।
उक्त प्रणालीमा रहेको विपद्को कुनैपनि प्रकारमा थिच्ने बित्तिकै लोकेसनसहित सूचना प्राप्त हुने र नजिकको बाहिनीमा कार्यरत कर्मचारी आउने उनको भनाइ छ । कार्कीले जोखिममा परेका नागरिकका लागि केन्द्र तथा प्रत्येक बाहिनीमा १११४ हटलाइन सेवा सञ्चालनमा ल्याइएको समेत बताए ।
मनसुनजन्य प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना’ कार्यान्वयनलाई प्राथमिकता दिइएको उनको भनाइ छ ।
‘एकीकृत बस्ती नहुँदा विपद् व्यवस्थापन चूनौतीपूर्ण’
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद एवं पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले विपद् व्यवस्थापन र प्रतिकार्यका लागि राज्यका सबै संयन्त्रहरू सक्रिय बनाइएको बताए ।
उनले विपद् व्यवस्थापनका लागि आवश्यक जनशक्ति, प्रविधि र उपकरण विगतको तुलनामा थप व्यवस्थित गरिएको दाबी गरे । सांसद गजुरेलले नेपालको छरिएको बस्ती संरचना र सिमित स्रोत–साधनका कारण विपद् प्रतिकार्य र व्यवस्थापनको कार्य चुनौतीपूर्ण रहेको पनि बताए ।
उनले पहाडी क्षेत्रमा घरहरू छरिएर रहेको तथा तराईमा समेत बस्ती एकीकृत नहुँदा विपद्का बेला प्रत्येक घरसम्म राज्यको पहुँच पुर्याउन चुनौती हुने गरेको छ । यी कुराहरुमा सरकारले क्रमशः सुधार गर्दै लगिरहेको उनको भनाइ छ ।
‘विपद् प्रतिकार्यको लागि स्थानीय तहलाई सक्रिय बनाउनुपर्छ’
सांसद गजुरेलले विपद् व्यवस्थापनको अग्रपङ्क्तिमा रहेर काम गर्ने निकाय स्थानीय तह भएको बताए । उनले विपद् व्यवस्थापन र प्रतिकार्यका लागि स्थानीय सरकारलाई पर्याप्त स्रोत र साधनयुक्त बनाउनुपर्ने बताए ।
केही स्थानीय तहले विपद् व्यवस्थापनको लागि बजेट समेत विनियोजन गर्ने नगरेको भन्दै उनले यस विषयमा संघीय सरकारले प्रदेश र स्थानीय तहसँग समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिए ।
संघीय सरकारले प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरी जोखिममा रहेका बस्तीलाई अस्थायी रूपमा स्थानान्तरण गर्ने तथा प्रभावित नागरिकलाई सुरक्षित आश्रयस्थलमा राख्ने व्यवस्था गर्नुपर्ने सांसद गजुरेलको भनाइ छ ।
सांसद गजुरेलले अधिकांश राजमार्ग नदी किनार र पहिरो जोखिमयुक्त क्षेत्रमा निर्माण भएकाले वर्षायाममा सडक दुर्घटनाको जोखिम उच्च रहेको बताए । उनले जोखिमयुक्त सडकका ‘ब्ल्याक स्पट’ पहिचान गरी सुधार गर्नुपर्ने बताए ।
उनले सिमलताल बस दुर्घटना र झ्याप्ले खोला क्षेत्रमा भएका दुर्घटनाको उदाहरण दिँदै पूर्वसूचना र जोखिम चेतावनीको बेवास्ता गर्दा ठूलो क्षति हुने गरेकोसमेत बताए ।

सरकारले विगतका वर्षहरूमा विपद्पछिको उद्धारमा भएका कमजोरीको अनुभवको आधारमा चनाखोका साथ काम गरिरहेको सांसद गजुरेलको भनाइ छ ।
मनसुनजन्य विपद् व्यवस्थापनका लागि नेपाली सेनाको तीन चरणको तयारी
मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै नेपाली सेनाले तीन चरणको विशेष पूर्वतयारी कार्ययोजना अघि सारेको छ । सम्भावित बाढी, पहिरो तथा अन्य प्राकृतिक प्रकोपबाट हुनसक्ने क्षति न्युनिकरण र तत्काल उद्धारका लागि सेनाले जनशक्ति र स्रोतसाधनलाई उच्च शतर्कताका साथ परिचालन गरेको हो ।
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतकाअनुसार पहिलो चरण अन्तर्गत पूर्वतयारी र योजना निर्माणको कार्य सम्पन्न भएको छ । यस क्रममा विगतका विपद्का घटनाहरूको गहन अध्ययन र अनुसन्धान गरी विद्यमान योजनालाई परिमार्जन गरिएको छ ।
जङ्गी अड्डादेखि तल्लो तहका इकाइहरूसम्म ’हातेमालो’ लगायतका विभिन्न संयुक्त अभ्यासहरू सञ्चालन गरी फौजलाई तयारी अवस्थामा राखिएको सेनाले जनाएको छ ।

तेस्रो चरणमा विपद् प्रतिकार्य र पृष्ठपोषणलाई प्राथमिकता दिइएको छ । सेनाले सामुदायिक विपद् प्रतिकार्य तालिममार्फत स्थानीय स्वयंसेवकहरू तयार गरेको छ । अन्य संवद्ध निकायहरूसँगको समन्वय र सहकार्यमा विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउने सेनाको लक्ष्य छ । विगतका अनुभवहरूबाट पाठ सिक्दै आगामी दिनमा रणनीतिक सुधार गरिने समेत सेनाले प्रतिबद्धता जनाएको छ ।
यसैबीच, नेपाली सेनाले आम सर्वसाधारणलाई नेपाल सरकारद्वारा जारी हुने मौसम पूर्वानुमानलाई नियमित रूपमा अनुशरण गर्न अनुरोध गरेको छ । विपद्का घटना भए तत्काल स्थानीय वा जिल्ला विपद् व्यवस्थापन समिति, नजिकको प्रहरी युनिट वा नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयमा जानकारी गराउन समेत प्रवक्ता बस्नेतले अपिल गरेका छन् । –न्युज एजेन्सी नेपाल








