हुम्लाको स्याँडा गाउँमा पहिलो पटक गाडी

हुम्ला । स्याँडा गाउँमा पहिलो पटक गाडी पुगेको छ । हुम्लाको सिमकोट गाउँपालिका–८ मा अवस्थित स्याँडा कर्णाली नदीपारि छ ।
गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा स्याँडा याङ्गु सडक निर्माणमा एक करोड १२ लाख बजेट विनियोजन गरेपछि गाउँमै गाडी पुगेको हो । यसअघि सिमकोटका सात वटै वडामा यातायातका साधन पुगिसकेका छन् ।
दुर्गम गाउँमा पहिलो पटक यातायात सेवा पुगेपछि स्थानीयवासी खुसी भएका छन् । गाउँसम्म गाडी पुगेका दिन स्थानीयले फूलमाला, बाजागाजा र स्वागत कार्यक्रमको आयोजना गरेका थिए ।
स्याँडा सडक सञ्चालनमा आएपछि खाद्यान्न, निर्माण सामग्री, औषधि तथा अन्य अत्यावश्यक वस्तुहरू ढुवानी गर्न सहज भएको वडाध्यक्ष कमल बुढाले बताए ।
गाउँमा गाडी पुगेपछि स्थानीयमा नयाँ आशा जागेको छ । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा व्यापार–व्यवसायका क्षेत्रमा थप सम्भावना सृजना हुने विश्वास गरिएको छ ।








