सुनुवाईको लागि प्रस्तावित व्यक्तिको विवरणलाई समितिमा मात्रै सीमित नगरौँ: पद्मा अर्याल

काठमाडौं । नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले संसदीय सुनुवाईका लागि प्रस्तावित व्यक्तिको विवरण समितिमा मात्रै सीमित नराखी समयमै सार्वजनिक गर्नुपर्ने बताएकी छन् ।
बुधवार बसेको संसदीय सुनुवाई समितिको बैठकमा आगामी सुनुवाई सम्बन्धी कार्यका लागि आन्तरिक तयारीबारे भएको छलफलमा बोल्दै अर्यालले सुनुवाई प्रक्रियामा पारदर्शिता र जनविश्वास बढाउन प्रस्तावित व्यक्तिको विवरण सार्वजनिक गर्नुपर्ने बताइन् ।
‘संसदीय सुनुवाईमा जुन व्यक्तिको बारेमा हामीले सुनुवाई गर्ने हो, उसको पहिले आएका विवरणहरू सार्वजनिक गरिदिउँ । एकदम हतार गरेर समितिभित्र मात्रै सीमित गर्ने होइन, सार्वजनिक गरिदिने प्रावधान राखौँ,’ उनले भनिन् ।
संसदीय सुनुवाईलाई औपचारिकतामा मात्रै सीमित नराखी जनविश्वास बढाउने प्रभावकारी संयन्त्रका रूपमा विकास गर्नुपर्नेमा पनि उनले जोड दिइन् । अन्तर्राष्ट्रिय असल अभ्यासहरूको अध्ययन गर्दै कार्यप्रणालीलाई थप प्रभावकारी बनाउन समिति सदस्यहरूका लागि विज्ञसहितको अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो ।
‘सुनुवाईलाई औपचारिकतामा सीमित राख्ने कि यसको फरक पहिचान गराउने भन्ने विषयमा हामीले राम्रोसँग छलफल गर्नुपर्छ,’ उनले भनिन्, ‘अन्तर्राष्ट्रिय र हाम्रा असल अभ्यासलाई सिकाइका रूपमा अघि बढाउन विज्ञहरूलाई राखेर समितिका सदस्यका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरौँ ।’
अर्यालले संसदीय सुनुवाईलाई जनविश्वास, जवाफदेहिता र पारदर्शिता अभिवृद्धि गर्ने प्रभावकारी संयन्त्रका रूपमा स्थापित गर्न कार्यविधिसँगै व्यवहारगत सुधारमा पनि ध्यान दिनुपर्ने बताइन् ।
विदेशमा रहेका नेपालीका समस्या समाधानका लागि राजदूतावासलाई थप सक्रिय बनाउन समितिले पहल गर्नुपर्ने उनको भनाइ थियो । त्यसका लागि भर्चुअल माध्यमबाट राजदूतहरूसँग नियमित छलफल गरी आवश्यक निर्देशन दिन सकिने सुझाव दिँदै उनले भनिन्, ‘राजदूतावासहरूलाई थप सक्रिय बनाउने विषयमा पनि समितिले प्रभावकारी भूमिका खेल्नुपर्छ ।’








