सरकारले विपन्न नागरिकलाई पीडा मात्रै दिने काम गरेको सांसदहरुको आरोप

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले सरकारले गरिब नागरिकलाई पीडा दिने काम मात्रै गरेको आरोप लगाएका छन् ।

बुधवार बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सांसदहरूले जनताको जल्दाबल्दा समस्याको सम्बोधन नगरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरे ।

भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बस्ती हटाउने क्रममा विस्थापित भई कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका २८ वर्षीय डम्बर तामाङ पक्राउ परेको विषयमा सांसद दुर्गा गुरुङले आपत्ति जनाइन् ।

‘यदि कुनै नागरिकले आफ्नो पीडा राखेकै कारण पक्राउ पर्नुभएको हो भने यो लोकतान्त्रिक शासन र संविधानको मर्मविपरीत हुन सक्दैन,’ उनले भनिन्, ‘नेपाल सरकारसँग आग्रह गर्दछु, उक्त घटनामा परेका तामाङलाई तत्काल रिहा गरियोस् ।’

सांसद गुरुङले होल्डिङ सेन्टरमा पीडादायी जीवन बिताइरहेका नागरिकलाई उल्टै पक्राउ गरिएको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरिन् ।

सांसद जयन्तीदेवी राईले संखुवासभाको सिदुवा खोलामा आएको बाढीका कारण सयौँ घरपरिवार विस्थापित हुँदा पनि सरकार मौन बसेको भन्दै आपत्ति जनाइन् ।

‘लगातार तीन दिनको वर्षापछि आएको बाढीले २८ घरपरिवार विस्थापित भएका छन्,’ उनले भनिन्, ‘विद्युत् सेवा अवरुद्ध हुँदा ६ सय घरपरिवार अन्धकारमा बस्न बाध्य छन्, सरकारले तत्काल राहत र सुरक्षित बसोबासको व्यवस्था गर्नुपर्छ ।’

यसैबीच सांसद नरबहादुर विष्टले संसदमा सांसदहरूले उठाएका प्रश्नको सरकारबाट जवाफ नआएको भन्दै असन्तुष्टि जनाए ।

‘माननीयहरूले शून्य समय र विशेष समयमा उठाएका विषयमा सरकारले अहिलेसम्म जवाफ दिएको छैन,’ उनले भने, ‘सुशासन र पारदर्शिताको कुरा गर्ने सरकारले संसदमा उठेका विषयप्रति जिम्मेवारी नदेखाउनु कस्तो सुशासन हो ?’

उनले सरकार नागरिकप्रति उत्तरदायी नभएको आरोप समेत लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =