सरकार दुई तिहाइ बहुमतको आडमा मनपरी ढंगले अघि बढ्न खोज्यो: युवराज ज्ञवाली

काठमाडौं । नेकपा (एमाले)का पूर्वउपाध्यक्ष युवराज ज्ञवालीले बालेन्द्र साह नेतृत्वको सरकार दुई तिहाइ बहुमतको आडमा मनपरी ढंगले अघि बढ्न खोजेको आरोप लगाएका छन् ।

बुधवार पूर्वसांसद मञ्च, नेपालको ६६ औँ वार्षिक साधारणसभामा बोल्दै उनले सरकारको कार्यशैली र गतिविधिले संविधान तथा लोकतान्त्रिक व्यवस्था संकटमा पर्न सक्ने खतरा देखिएको टिप्पणी गरे ।

‘अहिलेको सरकारले दुई तिहाइको नाममा मनपरी गर्न खोजिरहेको छ,’ उनले भने, ‘त्यसको खबरदारी गर्नु सबैको महत्वपूर्ण दायित्व हो ।’

उनले सत्तारूढ पक्षले संघीयता खारेज गर्ने विषयमा छलफल र दस्तावेज अघि बढाएको भन्दै सरकारको नियतप्रति आशंका बढ्दै गएको बताए ।

‘हामी अहिले संघीयता खारेज गर्ने कुरा सुनिरहेका छौँ,’ उनले भने, ‘यसरी नै अघि बढे संविधान नै समाप्त पार्ने प्रयास हो कि भन्ने आशंका बढिरहेको छ ।’

ज्ञवालीले प्रधानमन्त्री र सरकारले आफूखुशी निर्णय गर्ने सोच विकास गर्नु लोकतन्त्रका लागि अत्यन्त खतरनाक भएको चेतावनी दिए ।

उनले भने, ‘सरकार र प्रधानमन्त्रीले मनपरी गर्न पाउने भन्ने जुन कन्सेप्ट विकास भइरहेको छ, त्यो अत्यन्त खतरनाक छ । कतै निर्वाचित तानाशाहीतर्फ देश जान खोजिरहेको त होइन भन्ने प्रश्न उठिरहेको छ ।’

पूर्वउपाध्यक्ष ज्ञवालीले आफूले त्यसो नै भन्न खोजेको नभए पनि परिस्थितिले त्यतातिर संकेत गरिरहेको धेरैको बुझाइ रहेको बताए ।

उनले सबै लोकतान्त्रिक शक्तिहरूले समयमै सचेत भएर खबरदारी गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − sixteen =