कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र सुरु, नीति फेरिएला कि नेतृत्व ?

काठमाडौं । नेपाली कांग्रेसको बहुप्रतिक्षित विशेष महाधिवेशनको बन्दसत्र सोमबारबाट राजधानीको भृकुटीमण्डपमा विधिवत् सुरु भएको छ । आइतबार भव्य समारोहका बीच उद्घाटन भएको महाधिवेशनको दोस्रो दिन आज बिहान पौने ११ बजेदेखि बन्दसत्र प्रारम्भ भएको हो ।

पार्टीका ज्येष्ठ सदस्य ओमकारप्रसाद श्रेष्ठको अध्यक्षतामा सुरु भएको बन्दसत्रले नेपाली कांग्रेसको आगामी वैचारिक मार्गचित्र र सांगठनिक संरचना तय गर्नेछ । बन्दसत्रको प्रारम्भमा सत्र सञ्चालनका लागि आवश्यक कार्यविधि निर्माण गरिएको छ भने त्यसलगत्तै मुख्य एजेन्डाहरूमाथि केन्द्रित रहेर छलफल अगाडि बढाइएको छ ।

नौ समूहमा गहन नीति मन्थन
बन्दसत्रलाई व्यवस्थित र परिणाममुखी बनाउन सहभागी प्रतिनिधिहरूलाई नौवटा विभिन्न समूहमा विभाजन गरिएको छ । महाधिवेशन प्रचार प्रसार समितिका संयोजक सुभास पोखरेलका अनुसार यी समूहहरूमा मुख्य गरी चारवटा गम्भीर विषयमा गहन छलफल हुनेछ । जसमा विधान संशोधन, नीति तथा नेतृत्व, शासकीय सुधार र मुलुकको विद्यमान समसामयिक राजनीतिक विषयहरू रहेका छन् ।

विशेष गरी विधान संशोधन र शासकीय सुधारका मुद्दालाई यस महाधिवेशनमा निकै महत्वका साथ हेरिएको छ । समूहगत छलफलबाट प्राप्त हुने सुझाव र निष्कर्षका आधारमा पार्टीले आफ्नो आगामी रणनीति तय गर्ने बताइएको छ ।

बन्दसत्रको अर्को महत्त्वपूर्ण र संवेदनशील पाटो नेतृत्वको प्रश्न रहेको छ । नीतिगत मन्थन सकिएपछि वर्तमान नेतृत्वलाई नै निरन्तरता दिने वा नयाँ नेतृत्व चयन गर्ने भन्ने विषयमा महाधिवेशनले निर्णायक मोड लिने देखिएको छ । प्रचार प्रसार संयोजक पोखरेलले नेतृत्व परिवर्तनको पक्षमा प्रतिनिधिहरूको बहुमत देखिएमा तत्कालै निर्वाचन समिति गठन गरी चुनावी प्रक्रिया अगाडि बढाइने जानकारी दिएका छन् । यद्यपि, पार्टीभित्रको आन्तरिक एकता र शक्ति सन्तुलनलाई ध्यानमा राख्दै नयाँ कार्यसमिति सहमतिमै निर्विरोध चयन गर्ने प्रयास समेत भइरहेको बुझिएको छ ।

यसैबीच, दुर्गम तथा टाढाका जिल्लाहरूबाट प्रतिनिधिहरू आउने क्रम जारी रहेकाले आज बिहान ११ बजेसम्मका लागि दर्ता प्रक्रिया खुला राखिएको थियो । क्षेत्र तथा जिल्ला समन्वय समिति संयोजक युवराज पाण्डेयका अनुसार प्रतिकूल मौसम र भौगोलिक विकटताका कारण कतिपय प्रतिनिधि ढिलो आइपुगेकाले उनीहरूको सहभागिता सुनिश्चित गर्न समय थप गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 6 =