कांग्रेस विशेष महाधिवेशन: २ हजार ५० भन्दा बढी प्रतिनिधिको नाम दर्ता

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको नाम दर्ता संख्या २ हजार ५० भन्दा बढी पुगेको छ ।

आज साँझ सम्म २ हजार ५० जनाले नाम दर्ता गराएको आयोजक प्रचार प्रसार उपसमितिका सदस्य सचिव माधवप्रसाद चम्लागाईंले जानकारी दिएका छन् ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आइतबारदेखि भृकुटीमण्डपमा सुरु भएको यो विशेष महाधिवेशनमा नाम दर्ता प्रक्रिया निरन्तर जारी छ ।

बिहान ९ बजेदेखि सुरु भएको दर्ता कार्य आज साँझसम्म आठवटा छुट्टाछुट्टै स्टलमार्फत सञ्चालन भइरहेको छ । कांग्रेसले विभिन्न क्षेत्रका प्रतिनिधिलाई लक्षित गरी व्यवस्थित स्टलहरूको व्यवस्था गरेको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि एक स्टल, विदेशस्थित जनसम्पर्क समिति, भ्रातृ संस्था तथा शुभेच्छुक संस्थाका लागि एक स्टल, काठमाडौँ उपत्यका (काठमाडौँ, भक्तपुर, ललितपुर) का लागि एक स्टल र बाँकी पाँच प्रदेशका लागि छुट्टाछुट्टै स्टलहरू तय गरिएका छन् ।

पार्टीका अनुसार देशभर कुल ४ हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका छन् । हालसम्म दर्ता भएकामध्ये करिब ४३ प्रतिशत प्रतिनिधिले नाम दर्ता गराइसकेका छन् । आयोजकहरूले थप प्रतिनिधिहरू आइपुग्ने र दर्ता संख्या अझ बढ्ने अनुमान गरेका छन् ।

विशेष महाधिवेशनको औपचारिक उद्घाटन महामन्त्रीद्वय थापा र शर्माले भृकुटीमण्डपमा गरेका छन् । उद्घाटनअघि काठमाडौँका विभिन्न छ स्थानबाट जुलुस तथा र्‍याली निकालिएको थियो । उद्घाटन समारोहपछि बन्दसत्र भृकुटीमण्डपको मुख्य सभाहलमा सञ्चालन हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 9 =