देश र जनताको हितमा काम गर्न सक्ने सक्षम नेतृत्व चयन गरिनुपर्छ : चतुरबहादुर चन्द

काठमाडौं । नेपाली काँग्रेसका बैतडी जिल्ला सभापति चतुरबहादुर चन्दले विशेष महाधिवेशनमार्फत परिवर्तित समयअनुसार पार्टीको समस्या समाधान गर्दै देश र जनताको हितमा काम गर्न सक्ने नेतृत्व चयन गर्नुपर्ने बताएका छन् ।
काठमाडौंमा जारी पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति चन्दले पार्टीभित्रका समस्या समाधान गर्ने नीति र समयअनुसार चल्नसक्ने नेतृत्व चयन गरिनुपर्ने बताएका हुन् ।
उनले विगत चार महिना काँग्रेस कमजोर अवस्थामा पुगेको उल्लेख गर्दै पुनर्जीवित बनाउन भुमिका खेल्ने सबैलाई सम्मान गर्नुपर्ने बताए । उनले मुलुकले ठूलो परिवर्तन खोजेको भएपनि अन्य दुई ठुला दलहरू समयसापेक्ष रूपमा चल्न नसकेको पनि आरोप लगाए ।
उनले भने, ‘झन्डै चार महिना नेपाली काँग्रेस कोमामा थियो । कोमामा रहेको नेपाली काँग्रेसिलाई वायु दिएर जसले पुनर्जीवित गर्ने प्रयास गर्नुभयो सबैलाई सम्मान गर्दछु । अब नेपाली काँग्रेस यो देशको अभिभावक पार्टी बन्दै छ । इतिहासमा सधैँ यो देशलाई अभिभावकत्व दिएको पार्टी विगत चार महिनामा पछारिएको थियो, लछारिएको थियो त्यसलाई लयमा फर्काउने अभियानका अभियान्ता महामन्त्रीद्वयलाई सम्मान गर्न चाहन्छु । देशले ठूलो परिवर्तन खोजेको छ । अन्य दुई ठूला दलहरूले परिवर्तनको आवाज दिन सकेन । समयसापेक्ष मुलुकलाई अगाडि बढाउन नेपाली काँग्रेसले मात्र सक्छ भन्ने अठोट र विश्वासका साथ हामी यहाँ आएका छौँ । काँग्रेसभित्रका सबै विकृतिहरूको अन्त्य हुने गरेर यो विशेष महाधिवेशन नीति पास गरोस् । परिवर्तित समयअनुसार पार्टीलाई अगाडि बढाउँदै मुलुकको हितका लागि लागिपर्ने नेतृत्व चयन गरौँ ।’
पार्टीभित्र आन्तरिक विवादकाबीच काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशन जारी छ ।









