काँग्रेस विशेष महाधिवेशनमा देउवासहितका पदाधिकारीलाई दिइयो निम्तो

काठमाडौँ । नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठ पनि पार्टीको विशेष महाधिवेशनमा सहभागी हुने भएका छन् ।

शनिवार विशेष महाधिवेशन स्थलमा पत्रकार सम्मेलन गरी विशेष महाधिवेशन पक्षले संस्थापन पक्षका वरिष्ठ नेता श्रेष्ठ पनि विशेष महाधिवेशनमा सहभागी हुने जानकारी गराएको हो ।

त्यसैगरी पार्टी एकताको पक्षमा वकालत गरिरहेका नेताहरू डा। चन्द्र भण्डारी, डा। सुनिल शर्मालगायतका नेताहरूले पनि विशेष महाधिवेशनमा सहभागी हुने जानकारी गराएको नेता सुवास पोखरेलले बताए ।

सो महाधिवेशनमा भाग लिनका लागि सभापति शेरबहादुर देउवासहित पदाधिकारीहरूलाई पनि पत्र पठाइएको पत्रकार सम्मेलनमा बताइएको छ । नेता पोखरेलले काँग्रेसको गरिमालाई बढाउन पनि सो महाधिवेशनमा सभापति देउवा सहभागी हुने विश्वास समेत व्यक्त गरे ।

उनले भने ‘पार्टी सभापतिले हाम्रो निम्तोलाई स्वीकार गरेर हामीलाई सम्मान गर्नु हुनेछ । हामी यो पेक्षा गरेका छौ । क्रान्तिको ओजमा हुर्किएको रुवाखोलाको एउटा युवा केटो जो काठमाडौँ आउन पनि उता इन्डियाबाट घुमेर आउनु पर्दथ्यो । त्यो मोडबाट यो मोडसम्म आईपुग्नु भएको सभापतिजीले दुखका मोडहरू सम्झनु हुनेछ । काँग्रेसको गरिमा बढाउनका लागि हामीले उहाँबाट अपेक्षा गरेका छौ । सबै केन्द्रीय पदाधिकारीहरूलाई हामीले निम्ता दिएका छौ । विशेष महाधिवेशनमा श्रेद्धय नेता गोपालमान श्रेष्ठ आउनु हुनेछ । चन्द्र भण्डारी र सुनिल शर्मालगायतका नेताहरू पनि विशेष महाधिवेशनमा सहभागी हुने भनेर हामीलाई खबर पठाउनु भएको छ ।’

विशेष महाधिवेशनको तयारीको काम पूरा भएको पनि त्यसको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 8 =