बाह्य चलखेलको जोखिम बढ्यो: केपी ओली

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आवश्यकता अनुसार विभिन्न मुद्दाहरूमा लोकतान्त्रिक शक्तिहरूका साथ सहकार्य गर्न तयार रहेको बताएका छन् ।
शनिवार केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेकपा एमाले निर्वाचनमा स्वस्थ प्रतिस्पर्धामा विश्वास राख्ने पार्टी भएको बताए । उनले मुलुकका सामु उत्पन्न चुनौती अन्त्य नभइसकेको भन्दै लोकतन्त्र अझै संकटमा रहेको बताए ।
संविधान मिचिएको, जननिर्वाचित सरकारको ठाउँमा संविधान बाहिरको अनिर्वाचित सरकार रहेको बताए । समाज अराजकता, निषेध र हिंसाको धम्कीबाट अझै पनि त्रस्त रहेको बताए । राष्ट्रिय एकता कमजोर हुँदै जाँदा बाह्य चलखेलको जोखिम बढेको बताए ।
उनले भने ‘मुलुकका सामु उत्पन्न चुनौती अन्त्य भइसकेका छैनन् । लोकतन्त्र सङ्कटमा छ । संविधान मिचिएको अवस्थामा छ । जननिर्वाचित सरकारको ठाउँमा संविधान बाहिरको अनिर्वाचित सरकार छ । समाज अराजकता, निषेध र हिंसाको धम्कीबाट अझै पनि त्रस्त छ । राष्ट्रिय एकता कमजोर हुँदै जाँदा बाह्य चलखेलको जोखिम बढेको छ । राष्ट्रिय हितको रक्षामा नयाँ चुनौती थपिएका छन् । मुलुकमा केही पनि भएन भनेर जबरजस्त सिर्जना गरिएको नकारात्मक भाष्य छ । युवाहरूमा निराशा र अन्यौल छ । समाजमा भ्रम र द्विविधाको अवस्था छ । यसलाई राम्ररी संशोधन गर्नु पर्नेछ । यसका लागि संविधानका पक्षधर र लोकतान्त्रिक शक्तिहरू बिच निरन्तर संवाद, न्यूनतम समझदारी र कतिपय सन्दर्भमा सहकार्य जरुरी छ । हामी त्यसका लागि प्रयास गरिरहेका पनि छौँ । हाम्रो पार्टी निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा र आवश्यकता अनुसार विभिन्न मुद्दाहरूमा लोकतान्त्रिक शक्तिहरूका साथ सहकार्य गर्दै अगाडि बढ्न तत्पर छ । यसका निम्ति उपरोक्त शक्तिहरूलाई म आज र यस ठाउँबाट पनि आह्वान गर्दछु ।’
अध्यक्ष ओलीले समाजमा भ्रम र द्विविधाको अवस्थामा रहेको भन्दै यसलाई सम्बोधन गर्न संविधानका पक्षधर र लोकतान्त्रिक शक्तिहरू बिच निरन्तर संवाद, न्यूनतम समझदारी र कतिपय सन्दर्भमा सहकार्य जरुरी रहेको बताए ।









