कामले चिनिएका आशिक कार्की इक्यान सचिव पदका सशक्त उम्मेदवार

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का वर्तमान कोषाध्यक्ष आशिक कार्कीले आगामी कार्यसमितिका लागि सचिव पदमा उम्मेदवारी दर्ता गरेका छन् । उनलाई इक्यानको आगामी सचिवको बलियो र सशक्त दावेदारका रूपमा हेरिएको छ ।
मुखले होइन, काम गरेर देखाउने शैलीका कार्कीले कार्यसमिति सदस्य हुँदै कोषाध्यक्षको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै आएका छन् । इक्यानको आर्थिक कोषलाई पारदर्शी र प्रभावकारी रूपमा परिचालन एवं व्यवस्थापन गरेको भन्दै व्यवसायी सदस्यहरूबीच उनको प्रशंसा हुने गरेको छ ।
गत निर्वाचनमा कोषाध्यक्षको उम्मेदवार हुँदा अघि सारेका अधिकांश एजेन्डा र कार्ययोजना निर्वाचित भएपछि कार्यान्वयन गरेको कार्कीले बताए । ‘मैले गरेको बाचा र बोकेको जिम्मेवारी पूरा गर्ने सन्दर्भमा कतै प्रश्न उठाउने ठाउँ दिएको छैन,’ उनले भने, ‘कोषको आम्दानी बढाउने, अनावश्यक खर्च कटौती गर्ने र व्यवसायीहरूको क्षमता अभिवृद्धिका लागि संस्थागत पहल गर्नु नै मेरो मुख्य जिम्मेवारी थियो ।’
कोषाध्यक्षको मात्र होइन, मिडिया विभाग संयोजकको भूमिका पनि उनले जिम्मेवारीपूर्ण ढंगले निर्वाह गरेका छन् । संस्थागत प्रचारप्रसारमा जोड दिँदा सञ्चारमाध्यमले पनि उनलाई नजिकबाट नियाल्ने अवसर पाएको छ । सञ्चारकर्मीमाझ सरल र व्यवहारिक छवि बनाएका कार्कीले व्यवसायी हितका लागि थुप्रै महत्वपूर्ण काम सम्पन्न गरेका छन् ।
उनकै पहलमा करसम्बन्धी देशव्यापी तालिम तथा गोष्ठी सञ्चालन गरी व्यवसायीहरूलाई करको सही ज्ञान बाँडिएको छ । काठमाडौं धाउनुपर्ने बाध्यता हटाउँदै ओडीएमबी सेवामार्फत जापान, युके र अस्ट्रेलियाको बायोमेट्रिक सेवा मोफसलबाटै उपलब्ध गराउने व्यवस्था मिलाएका छन्, जसले व्यवसायीको समय र पैसा दुवै बचत भएको छ ।
यसैगरी बैंकहरूसँग समन्वय गरी विना धितो १५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउने र स्ट्यान्डर्ड चार्टर्ड तथा सिटिजन्स बैंकसँग सहकार्यमा क्यूआर तथा फोन पे मार्फत क्रेडिट सेवा सहजीकरण गरेका छन् । कोभिड–१९ पछि रोकिएका ४ हजार १०० वटा जापान भिसा एप्लिकेसनको समस्या समाधान गर्नुका साथै पीटीई परीक्षाको मिति सजिलै उपलब्ध हुने अवस्था सिर्जना गर्न पनि उनको भूमिका महत्वपूर्ण रहेको छ ।
इक्यानका विभिन्न कार्यक्रमलाई आवश्यक पर्दा फण्ड कलेक्सनमा विशेष योगदान दिएका कार्कीले कतिपय अवस्थामा आफ्नै कम्पनीबाट प्रायोजन गरेर पनि कार्यक्रम सफल बनाएका छन् ।
शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित, सशक्त र सम्मानित बनाउने साझा अभियानमा लामो समयदेखि योगदान दिँदै आएका कार्कीले अब सचिवको जिम्मेवारी लिन तयार रहेको बताए । ‘इक्यानमा थिति बसालेका छौं, अब गति दिनेछौं !’ उनले भने, ‘संस्थागत सुदृढीकरण र व्यवसायी हकहितमा समर्पित रहेर काम गर्ने अवसर प्राप्त हुने अपेक्षा गरेको छु ।’
नेतृत्वमा स्पष्ट भिजन र इच्छाशक्ति भए असम्भव पनि सम्भव हुने मान्यता बोकेका कार्कीले कोषाध्यक्षको रूपमा इक्यानलाई कर्पोरेट उचाइमा पु–याएको स्मरण गर्दै अब प्रशासनिक तथा रणनीतिक जिम्मेवारी पूरा गर्ने अवसरका लागि सम्पूर्ण इक्यान सदस्यहरूसँग साथ, सहयोग र अमूल्य मतको आग्रह गरेका छन् ।









