खेलकुदमन्त्री बब्लु गुप्ताको विवादित अमेरिका भ्रमण स्थगित

काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आगामी माघ ३ गते अमेरिका भ्रमणमा जाने तय भएको कार्यक्रम स्थगित गरेका छन् ।

मन्त्री गुप्ताका स्वकीय सचिव विनोद रिमालका अनुसार भिसा लगायतका प्रक्रियाका लागि समय अपुग भएकाले अहिलेका लागि भ्रमण नजाने निर्णय भएको हो । ‘भिसा लगायतका प्रक्रियाका लागि समय लाग्ने भयो । त्यसैले समय अपुग भएकाले उहाँ अहिलेका लागि अमेरिका जानुहुन्न,’ रिमालले भने ।

यसअघि मन्त्रिपरिषद्ले ‘रोल अफ युथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजी रिभोलुसन’ विषयक कार्यक्रममा सहभागी हुन मन्त्री गुप्तालाई अमेरिका भ्रमण स्वीकृति दिएको थियो ।

विकास उप्रेती अध्यक्ष रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को युवा विभागले टेक्सासको डलासमा आयोजना गर्न लागेको यो कार्यक्रममा मन्त्रीले जेनजी आन्दोलनपछि युवाको भूमिका र गैरआवासीय नेपाली युवाको योगदानबारे प्रस्तुति दिने तालिका थियो ।

कार्यक्रमको योजना संघका युवा संयोजक आशिस संग्रौलाले गरेका थिए । तर सतेन्द्र शाह अध्यक्ष रहेको अर्को एनआरएनए–अमेरिकाले मन्त्रीलाई नबोलाएको विज्ञप्ति जारी गरेपछि भ्रमण विवादित बनेको थियो । अमेरिकामा एनआरएनएका तीन फरक समूह सक्रिय छन्, जसमध्ये उप्रेतीको समूहले कार्यक्रम आयोजना गर्दै थियो ।

रिमालका अनुसार भ्रमणको कार्यक्रम तीन साताअघि नै तय भएको थियो तर मन्त्रिपरिषद् बैठक नबस्दा स्वीकृति ढिलो भएको हो । ‘बीचमा एउटा बैठकको कार्यसूचीमा परेन, त्यसपछि १० दिन बैठक नै बसेन । तीन दिनअघि मात्र स्वीकृति दिइएको थियो,’ उनले भने । मन्त्री सरकारी खर्चमा नभई आयोजककै खर्चमा जाने योजना थियो र साथमा अरू कोही नलैजाने पनि रिमालको भनाइ छ ।

माघ ६ गते प्रतिनिधिसभा निर्वाचनको मनोनयन दर्ता हुन लागेकाले मन्त्री त्यसअघि नै फर्कने योजना थियो । गैरदलीय सरकारमा रहे पनि गुप्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट मानिन्छन् ।

रास्वपा अध्यक्ष रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङबीच एकताको सहमतिपछि उनले तीनै जनासँग फोटो खिचाएका थिए । यसअघि प्रधानमन्त्री सुशीला कार्कीले कुनै पार्टी निकट भएको भन्दै उनको राजीनामा मागेको चर्चा पनि सार्वजनिक भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 4 =